प्रधानन्यायाधीशको अडान: राजीनामा दिन्न, संविधान र न्याय प्रशासन ऐनअनुसार बेन्च सञ्चालन गर्छु



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानले तयार पारेको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने बताएका हुन् । उनले संविधान र न्याय प्रशासन ऐन अनुसार नै बेन्च सञ्चालन गर्ने बताएको अभियानका संयोजक अधिवक्ता शिव अर्यालले जानकारी दिए ।

अर्यालले भने, ‘मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु भन्नुभएको छ । विधानबमोजिम मेरो नियुक्ति भएको हो । संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु भन्ने उहाँको कुरा थियो ।’

मंगलबार कानुन व्यवसायी अभियानले प्रधानन्यायाधीश जबरासमक्ष विनासर्त इजलास सुरु गर्न, नेपाल बार एशोसिएसनले गोला प्रथाबाट पेशी तोक्ने भनेर उठाएको मागलाई तत्काल पूरा गर्न र न्याय किचबेच गर्ने न्यायाधीशहरुलाई पहिचान गरि तत्काल कारवाही गर्न तीन बुँदे मागपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्