आगलागीमा चारजना नवजात शिशुको मृत्यु



नयाँदिल्ली, (एजेन्सी) ।

केन्द्रीय भारतीय राज्य मध्यप्रदेशको एउटा अस्पतालको नवजात शिशुको वार्डमा अचानक आगलागी हुँदा कम्तीमा चारजना भर्खर जन्मेका शिशुको मृत्यु भएको मंगलबार सरकारी सञ्चार माध्यमले जनाएको छ । सोमबार राती भोपालस्थित काम्ला नेहरू बाल अस्पतालमा भएको यस अप्रिय दुर्घटनाको क्रममा अग्निनियन्त्रकहरूले ३६ जना शिशुको ज्यान जोगाउन सफल भएका छन् ।

धुँवाले भरिएको अस्पतालभित्र छिर्न अभिभावकहरूले जबर्जस्ती गरिरहेको ह्रदयविदारक भिडियो फुटेजहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । आगलागी हुनुको कारण अझै यकिन हुन सकेको छैन । तर, सरकारी अधिकारीहरूले विद्युतीय सर्ट सक्र्युटको गडबडीको कारण हुनुपर्ने अनुमान गरेका छन् ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटना निकै दुःखदायी रहेको जनाउँदै राम्ररी दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । साथै उनले प्रत्येक पीडित परिवारलाई चार लाख भारु दिने घोषणा पनि गरेका छन् । स्थानीय समयअनुसार बेलुका करिब ९ बजे शुरू भएको सो आगो निभाउन तीन घन्टा समय लागेको थियो ।

सुरक्षा व्यवस्थामा लापरबाही अपनाइने गरेकाले भारतका अस्पतालमा आगलागीको घटना घट्नु सामान्य भइसकेको छ ।

यसैबीच, आइतबार पनि महाराष्ट्र राज्यको एउटा अस्पतालको कोभिड सघन उपचार कक्षमा भएको आगलागीमा एघारजना बिरामीको ज्यान गएको थियो । उक्त दुर्घटनाबारे पनि अनुसन्धान भइरहेको सरकारी सूत्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्