नेवाः चलचित्रमा सांस्कृतिक पहिचान

विजयरत्न तुलाधर



  • विजयरत्न तुलाधर

नेपाल संवत् ११०८ अर्थात् वि.सं. २०४४ बाट शुरू भएको नेवाः फिल्मको यात्राले ने.सं. ११४२ सम्म आइपुग्दा करिब साढे तीन दशकको यात्रा पार गरेको अवस्था छ । यस अवधिभित्र करिब–करिब एक सय ५० वटा नेवाः फिल्महरू प्रकाशमा आइसकेका छन् । तीमध्ये निर्देशक सुरेन्द्र तुलाधरको “आसकुति” र निर्देशक अमृतचन्द्र श्रेष्ठको “घोषक” सबैभन्दा पछिल्ला नेवाः फिल्महरू हुन्, जुन ने.सं. ११४१ सालभित्र प्रदर्शनमा आए ।

अब ने.सं. ११४२ भित्र भने करिब १०/१२ वटा फिल्म प्रकाशमा आउने देखिन्छ । तीमध्ये निर्देशक रामकृष्ण खड्गीको “कर्म” निर्देशक वासु शाहीको “बहिदार बाबु” निर्देशक आर.एम.शाक्यको “रश्मी” निर्देशक आर्यम नकर्मीका दुई फिल्महरू “सनाखत” र “लाखे भाजु” तथा इतिहास अन्वेषक ओमचरण अमात्यको प्रयासमा निर्माण गरिएको ठूलो लगानी रहेको “च्वापुफय्” प्रमुख छन् ।

यो “च्वापुफय्” नेपाल भाषा, नेपाली, चिनियाँ र अंग्रेजी भाषाया निर्माण गरिएको फिल्म हो । कुनै बेला नेपालमा नेपाली भनिने खस भाषामा मात्र चलचित्रहरू बन्ने गर्दथे । यो क्रम वि.सं २०४३ सम्म निरन्तर चलि नै रह्यो । वि.सं. २०४४ साल मंसिरमा आएर बल्ल यो क्रम तोडियो ।

श्रावण शुल्कपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमाको दिन गोसाइँकुण्डमा ठूलो मेला लाग्छ । त्यही मेलाको कथामा आधारित नेपाल भाषाको चलचित्रको रूपमा “सिलु” बन्यो । अर्थात् अहिले आदिवासी जनजाति मातृभाषी चलचित्र भनिने एउटा छुट्टै स्थान हासिल गर्न सफल आदिवासी चलचित्र क्षेत्रको पहिलो चलचित्रको रूपमा “सिलु” बनेको थियो ।

जुन नेपाल भाषामा बनेको थियो । यसरी “सिलु” ले एकातिर पहिलो नेवाः चलचित्रको दर्जा पायो भने अर्कोतिर यो नै पहिलो आदिवासी जनजाति मातृभाषाको चलचित्र हुन पुुग्यो । “सिलु” का नायक जय श्रेष्ठ र नायिका नविना श्रेष्ठले आदिवासी जनजाति मातृभाषा तर्फका पहिला नायक र नायिका हुने श्रेय पाए भने यस चलचित्रका निर्देशक प्रदीप रिमालले निर्देशकको तर्फको त्यो गौरव हासिल गरे ।

“सिलु” प्रदर्शित हुँदासम्मको संख्यात्मक स्थिति गणना गर्ने हो भने वि.सं. २००८ सालमा प्रदर्शित “सत्य हरिश्चन्द्र”, २०२२ मा प्रदर्शित “आमा” देखि माइतीघर, परिवर्तन, हिजो आज भोलि, मनको बाँंध, कुमारी, सिन्दुर, जीवनरेखा, बदलिँदो आकाश, जुनी, आदर्श नारी, कान्छी, वासुदेव, के घर के डेरा, कुुसुमे रुमाल र विश्वास गरी जम्मा १७ वटा मात्र चलचित्र प्रदर्शित भइसकेको अवस्था थियो भने “सिलु” नेपालको अठारौं चलचित्र हो ।

“सिलु” चलचित्रपछि नेपाल भाषाको दोस्रो चलचित्रको रूपमा “राजमती” बन्यो । जुन वि.सं. २०५२ फागुनतिर प्रदर्शनमा आएको थियो । यस चलचित्रका निर्देशक नीर शाह हुन् । यसमा हिसिला महर्जनले राजमतीको शीर्ष भूमिका निर्वाह गरिन् भने उनलाई अभिनयमा श्रीकृष्ण श्रेष्ठ र मणिराज लवटले नायकहरूका रूपमा साथ दिए ।

कलात्मक मूल्य र मान्यतामा उत्कृष्ट ठहरिएको “राजमती” चलचित्रलाई अहिलेसम्म पनि नेपालकै एक उत्कृष्ट चलचित्रहरूमध्ये एक मानिंदै आएको छ । सिलु र राजमती दुबै चलचित्रहरू सेलुलोयड प्रविधिमा बनेका चलचित्रहरू हुन् । यी दुई चलचित्रहरू बनेको आठ वर्षको अवधिको बीचमा केही अरू पनि चलचित्र नेपाल भाषामा बनेका थिए ।

ती चलचित्रहरू चरित्र, चिपःनिपः, न्हिला न्हिला हुँ र निपाः ख्वाःपाः हुन् । यी चारवटै चलचित्र भिडियो प्रविधिमा निर्माण गरिएका थिए । जुन प्रविधिलाई चलचित्र निर्माणको सर्वमान्य प्रविधि मानिंदैनथ्यो । त्यसले गर्दा इतिहासको कालखण्डमा ती चलचित्रहरू विलीन हुनपुगे ।

भिडियो प्रविधिमा नै निर्मित भए पनि नेपाल भाषाको चलचित्र इतिहासमा ती चार चलचित्रहरूको स्थान पनि महत्वपूर्ण नै छ भन्ने कुरा यहाँ उल्लेखनीय हुन आउँछ । प्रविधिको विकास सँंगसँंगै अहिले भिडियो प्रविधिको विकास भई उच्चस्तरीय डिजिटल प्रविधिमा पुगिसकेको छ । जुन प्रविधिलाई अहिले एचडी अर्थात् हाई डेफिनेसन भनिन्छ ।

हाई डेफिनेसन डिजिटल प्रविधिमा पनि अत्याधुनिक क्यामेराहरू भित्रिसकेको छ भने अहिले मूलधारका भनिने नेपाली चलचित्रहरूसमेत अत्याधुनिक र उच्चस्तरीय डिजिटल प्र्रविधिमा बनिरहेका छन् । यद्यपि, भिडियो प्रविधिको उच्चस्तरीय क्यामेरा प्रयोग गरिने गरे पनि नेपाल भाषाका चलचित्रहरूको प्राविधिक रूपमा स्तरोन्नति हुन सकेको छैन । यही परिधिमा रहेरै भए पनि नेपालमा नेपाल भाषालगायत विभिन्न आदिवासी मातृभाषाहरूमा चलचित्र बनिरहेका छन् ।

यही परिप्रेक्ष्यमा चर्चा गर्दा नेपाल भाषामा वर्षको करिब एक दर्जनको संख्यामा चलचित्र प्रकाशमा आउने गरेको पाइन्छ । तर, अहिले कोरोनाको त्रास र लकडाउनको बन्धनको कारणले गर्दा संसारभरिका चलचित्रहरूजस्तै नेपाल भाषाको चलचित्र जगत् पनि समस्यामा परिरहेको छ ।

यो परिस्थिति आउनुभन्दा अघिको अवस्थालाई हेर्ने हो भने यसरी सार्वजनिक हुने चलचित्रहरूमा केही चलचित्रहरूको दर्शक एवं बजार भनेको च्यारिटी शो मात्र हुने गर्दछ भने केही चलचित्रहरू भिसिडी डिभिडीमार्फत सीधै दर्शकको घरघरमा पुग्ने गर्दथ्यो । तर, अहिले भिसिडी र डिभिडीको युग स माप्त भइसकेको छ ।

यीबाहेक अर्को बजार खोज्न सकिएको छैन । अमेरिका, बेलायत, जापानलयायत विभिन्न देशहरूमा बस्दै आएका नेवारहरूबीच नेपाल भाषाका चलचित्र पु¥याउने पहल हुन सकेको छैन । विदेशमा बस्दै आएका नेवारहरूको ठूलो समुदायबीच नेपाल भाषाका चलचित्रहरू पु¥याउने प्रयास नै नभएको पनि हैन ।

निर्देशक सुरेन्द्र तुलाधरले आफ्नै पहलमा “पानवती” अस्ट्रेलियामा प्रदर्शन गरेका थिए भने निर्देशक रत्नकाजी लुनिभाको निर्देशनमा बनेको लघु चलचित्र “मुद्दा” पनि अस्ट्रेलियामा प्रदर्शन भएको थियो । यस्तै, गंगाबहादुर नेमकुलको प्रयासमा निर्मित “म्हसिका” ले पनि अस्ट्रेलियामा प्रदर्शन हुने अवसर पाएको मात्र नभई यो चलचित्र अस्ट्रेलियामा नै निर्माण सम्पन्न भएको थियो ।

वास्तवमा नेपालबाहिर बनेको नेपाल भाषाको पहिलो चलचित्र पनि “म्हसिका” नै हो । यी चलचित्रहरूको अलावा बेलायतमा बस्दै आएका अभिनेता एवं निर्माता मनीषकुमार श्रेष्ठले निर्माण गरेको नेपाल भाषाको चलचित्र “तुयुमती” पनि बेलायतमा प्रदर्शन भएको नेपाल भाषाको चलचित्र हो । यो चलचित्र हङकङमा पनि प्रदर्शन भइसकेको छ ।

यसरी विदेशमा प्रदर्शन भएका नेपाल भाषाका चलचित्रहरूको चर्चा गर्ने क्रममा क्यानाडाको टोरन्टोमा वर्षेनी आयोजना हुँदै आएको नेपाली चलचित्र फेस्टिभलमा “कल्ली” लगायतका चलचित्रहरू प्रदर्शित भइसकेको छ भने अमेरिकामा सम्पन्न आदिवासी फिल्म फेस्टिभलमा “कल्ली” र “कृषा गौतमी” प्रदर्शन भएको थियो ।

यस्तैगरी, अन्य चलचित्रहरूमा “भिन्तुना” को पनि अमेरिका लगायतका केही देशमा प्रदर्शन भएको खबर छ भने “मनू म्हसीकी” पनि अमेरिकामा प्रदर्शन भएको चलचित्र हो । यसरी विदेशमा प्रदर्शन गरिएका केही चलचित्रहरूलाई धेरैले मन मराएको दाबी निर्माताहरूको रहेको छ ।

अमेरिकामा बस्दै आएका आदीबासी नेपालीहरूको संस्था आदीबासी जनजाति संघ अमेरिकाको प्रयासमा प्रत्येक वर्ष प्रतिस्पर्धात्मक रूपमा आदिवासी नेपाली चलचित्र महोत्सव आयोजना हुँदै आएको छ । यो वर्ष त्यस महोत्सवमा ऐतिहासिक पृष्ठभूमिमा बनेको नेपाल भाषाको चलचित्र “जामन गुभाजु” प्रदर्शन भएको थियो । “जामन गुभाजु” ले सो प्रतिस्पर्धात्मक महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र सर्वोत्कृष्ट अभिनेतालगायत तीनवटा पुरस्कार जित्न पनि सफल भएको थियो ।

यसरी हेर्दा विदेश पनि नेपाल भाषाका चलचित्रको लागि राम्रो बजार हुनसक्ने प्रष्टै देखिन्छ । तर, यसतर्फ व्यवस्थित पाइला भने बढाउने पहल हुन सकेको छैन । यस्तैगरी, हलमा नेपाल भाषाकालगायत आदीवासी जनजाति भाषाका चलचित्रहरू व्यवस्थित रूपमा सार्वजनिक प्रदर्शन गरी ठूलो दर्शक समूहमा पुग्ने सपना पूरा गर्न सकिरहेको छैन ।

यसमा सरकारी सञ्चार नीति बाधक बनिरहेको छ । सेन्सर शुल्कमा राहत हुनुपर्ने भनी धेरै लामो समय अघिदेखि उठाउँदै आएको आवाजप्रति कुनै सम्बोधन हुन सकेको छैन । यस्तो दुरूह अवस्थामा पनि नेपाल भाषाका चलचित्रहरू बन्ने क्रम जारी नै छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा करिब एक सय ५० भन्दा बढी संख्यामा नेपाल भाषाका चलचित्र सार्वजनिक भइसकेका छन् । यसरी बनेका चलचित्रहरूमध्ये केही चलचित्रहरू च्यारिटी शो वा विशेष शोको माध्यमबाट दर्शकसम्म पुग्छन् भने बाँकी केही चलचित्र नेपाल संवत्को न्हुदयाँको अवसरमा भीसीडी र डीभीडीका रूपमा बिक्री वितरण गर्ने गरिन्छ र वास्तवमा यो नै नेपाल भाषाका चलचित्रहरूको प्रमुख बजारको रूपमा रहँदै आइरहेको छ ।

अहिलेसम्म सार्वजनिक भइसकेका नेपाल भाषाका चलचित्रहरूको चर्चा गर्दा सिलु र राजमतीपछि सबै भन्दा प्रसंशित चलचित्र “भिन्तुना” हो । यो चलचित्र नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा क्रिटिक्स अवार्ड पनि हासिल गर्न सफल भएको थियो । यस चलचित्रका निर्देशक आर्यम नकःमि हुन् ।

उनी नेपाल भाषा चलचित्र क्षेत्रका एक प्रतिभाशाली कलाकर्मी हुन् । वास्तवमा एकपटक सुकेर विश्रामको अवस्थामा रहेको नेपाल भाषाको चलचित्र निर्माण क्षेत्रलाई पुनःर्जागरण गराउने पनि आर्यम नकःमि नै हुन् । यीबाहेक “पानवती” एउटा यस्तो चलचित्र सावित भएको छ, जुन चलचित्रले सबैभन्दा बढी च्यारिटी शो गर्ने अवसर पाए अर्थात् सबैभन्दा बढी दर्शकले हेरे । सामाजिक विषय बस्तुमा बनाइएको यस चलचित्रका निर्देशक सुरेन्द्र तुलाधर हुन् ।

“पानवती” बाहेक “तुयुमती” र “तिनतिकः महाविकः” पनि चर्चा कमाएका चलचित्रहरू हुन् । अंश , जिपिं बदमाश मखु , जिगु मिखाया न्ह्योने , मू मदुगु जिन्दगी लगायतका फिल्महरूका निर्देशक तुलाधर एक सशक्त लेखक पनि हुन् अनि अभिनेता पनि । बहुप्रशंसित नेवाः फिल्म “याकः म्ह्याय्”का लेखक सुरेन्द्र तुलाधर नै हुन् भने निर्देशक भोगेन्द्र मानन्धरको “थ्वला ग्यानापु स्टायल”का लेखक पनि सुरेन्द्र तुलाधर नै हुन् ।

नेपाल भाषाका चलचित्रहरूको चर्चा गर्दा नेवार समुदायमा बहुचर्चित किंबदन्तीमा आधारित “जामन गुभाजु” जस्तै “गुरूमापा” पनि ऐतिहासिक पृष्ठभूमिमा आधारित किंवदन्ती बोकेको दुई दशकअघि बनेको चलचित्र हो । किंवदन्ती कथाहरूका लागि धनी नेवार समुदायमा धेरै कथाहरू खोतल्ने प्रयास भएको छैन ।

अहिले त्यस्तै एउटा किंवदन्तीमा आधारित चलचित्र “लाखे भाजुु” प्रदर्शनको लागि तयार भएको छ । जुन हरेक वर्ष इन्द्रजात्राको अवसरमा ल्याइने लाखे नाचसँंग सम्बद्ध किंबदन्ती हो । नेवारहरूको भूमि नेपाल मण्डललाई ऋण मुक्त गराउने एक व्यापारी शंखधर साँख्वाले कसरी नेपाल मण्डललाई ऋणबाट मुक्त गराएर देशको नाममा नेपाल संवत् स्थापना गरे भन्ने कथामा आधारित “लिजेन्ड अफ शंखधर” नामक चलचित्र पनि नेपाल भाषामा बनेको छ ।

जुन चलचित्रलाई नेपालकै पहिलो एनिमेसन चलचित्रको रूपमा लिइन्छ । यो चलचित्रका निर्देशक संयुक्त श्रेष्ठ हुन् । संयुक्त श्रेष्ठ लन्डनमा बसेर ग्राफिक्स एनिमेसनमा आफ्नो कौशल देखाइरहेका शिल्पी हुन् । हाल उनी पनि लाखेकै किंवदन्तीमा आधारित कथामा “मजिपा लाखे” नामक अर्कों एउटा एनिमेसन चलचित्र निर्माण गरिहेका छन् ।

यसरी, किंवदन्तीमा आधारित चलचित्रहरू पनि बनिरहेको नेपाल भाषाका चलचित्रहरूका कथावस्तुलाई नियाल्ने हो भने यसमा विविधता रहेको हामी पाउन सक्दछौं । र प्रेमकथामा बनेको सर्ग मिलाः र मिजं (राज शाक्य), सामाजिक परिवेशमा बनेको याकः म्ह्याय् (राजु श्रेष्ठ), न्हाय्कं (आर्यम नकःमि), युवाहरूको कथामा बनेको जिपिं बदमाश मखु (सुरेन्द्र तुलाधर), नेवाः लोक सांस्कृतिक कथामा आधारित गुरूमापा (शान्तराज शाक्य), बौद्धकालीन कथामा आधारित पटाचारा र कृषा गौतमी (रामकृष्ण खड्गी), बौद्ध कथामै आधारित चाण्डालिका (मनीष श्रेष्ठ) र सेरिव बञ्जा (अमृतचन्द्र श्रेष्ठ) पुनर्जन्ममा बनेको चलचित्र मतिनाया कलि र इहिपा (सुरेश बज्राचार्य), सामाजिक विसंगतिको कथा तुतां र त्याग (नविन रोशन ताम्राकार) र चकना (रामशेखर नकःमि), राजनीतिक विषयवस्तुमा बनेको लिधंसा (हरिकृष्ण दुवाल) को छ भने पृथक सामाजिक परिवेशलाई समेटिएर बनाएको याँ मिखा (रवि डंगोल), माया (आर्यम नकःमि र सुनिता राजभण्डारी) र हाकु सुपाँय् (माणिक उराय) लगायतका चलचित्रहरू हेर्दा यो कुरा प्रष्ट हुनेछ । यहाँ उल्लेखित केही चलचित्रहरू बाहेक अधिकाशं चलचित्र हास्य कथामा आधारित छन् । नेपाल भाषामा अत्यधिकरूपमा हास्य चलचित्र नै बनेको पाइन्छ ।

अहिले भने नेपाल भाषाका चलचित्रहरूमा ऐतिहासिक पृष्ठभूमि र किंवदन्तीलाई समेट्ने चलन बढ्न थालेको छ । यसरी इतिहासलाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरिएका चलचित्रहरूमा “सिलु”पनि एक हो भने “राजमती”लाई ऐतिहासिक पृष्ठभूमिमा प्रस्तुत गरिएको थियो ।

पछिल्ला चलचित्रहरूमा “भिन्तुना” र “माया” भित्र पनि इतिहासको एक कालखण्डलाई चित्रण गर्न खोजिएको थियो भने “पःखाः” पनि वर्तमान परिवेशभन्दा पहिलेको परिवेशलाई नै समेटेको चलचित्र थियो । विगतका यी चलचित्रहरूबाहेक अहिले ऐतिहासिक पृष्ठभूमिलाई आफ्नो चलचित्रमा समेट्नेहरूको संख्यामा उल्लेख्य वृद्घि भएको पाइन्छ । त्यस्ता चलचित्रहरूमा “तापालय्” र “स्वयनगु” सार्वजनिक भइसकेका छन् भने अहिले “च्वापुफय्” जस्ता चलचित्रहरू पनि ऐतिहासिक पृष्ठभूमिलाई पर्दामा प्रस्तुत गर्ने प्रयास भइरहेका चलचित्रहरू हुन् ।

नेपाल भाषाका चलचित्रहरूको लागत अहिले खास गरेर पाँच लाख रुपियाँदेखि बीसलाख रुपियाँसम्म हुने गरेको छ भने “च्वापुफय्” करिब तीन करोड रुपियाँको लागतमा निर्माण भइरहेको एक बिग बजेट चलचित्र हो । नेपाल भाषा, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा समेत प्रकाशमा आउने भनिएको यस “च्वापुफय्” चलचित्रको कथा नेपालमण्डलमा पहिला पहिला बैदेशिक रोजगारका रूपमा रहेका नेवारहरूको तिब्बत ल्हासा व्यापारसँग सम्बद्ध कथामा आधारित छ ।

यही तिब्बत ल्हासा व्यापारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले “मुना मदन” लेखेका थिए । सोही मुना मदनमा आधारित नेपाली भाषाको चलचित्र प्रकाशमा आइसकेको छ । नेपाल भाषाका चलचित्रहरूले हासिल गरेको उपलब्धिबारे चर्चा गर्ने हो भने नेपाल सरकार ,चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कारमा आदिवासी जनजाति भाषाको प्रतिस्पर्धामा नायिका मेलिना मानन्धरले दुईवटा बेग्लाबेग्लै चलचित्रहरू “पटाचारा” र “बाँला मय्जु”बाट सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जित्न सफल भएकी थिइन् भने “बाँला मय्जु” का निर्देशक पवन जोशी र “पटाचारा” का निर्देशक रामकृष्ण खड्गीले पनि सर्वश्रेष्ठ निर्देशकको पुरस्कार जितेको मात्र नभई ती दुवै चलचित्रले सर्वश्रेष्ठ चलचित्रको समेत पुरस्कार जित्न सफल भएको थियो ।

“भिन्तुना”ले हासिल गरेको पुरस्कारबारे माथि नै उल्लेख भइसकेको छ । यस्तै, वि.सं. २०६२ सालमा तत्कालीन शाही सरकारको पालामा चलचित्र विकास बोर्डद्वारा आयोजित प्रथम राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा “राजमती”का लागि नायिका हिसिला महर्जनले क्रिटिक्स अवार्डतर्फ सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जित्न सफल भएको कुरा पनि स्मरणीय छ ।

इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा हुने गरेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि नेपाल भाषामा बनेका चलचित्रहरूको उल्लेख्य सहभागिता रहँदै आएको थियाृे । यो फिल्म फेस्टिभलमा फिचर फिल्महरूका साथै नेपाल भाषा र नेवारहरूको संस्कृति अनि जीवनलाई समेटेका वृत्तचित्रहरू तथा सर्ट मुभीहरू पनि उल्लेख्य संख्यामा सहभागी हुने गरेको छ ।

यति मात्र नभई प्रिनाराज जोशीको “ग्वाय्मरू”, महिला निर्देशक लुनिभा तुलाधरको “ब्वयेगु मन्तुना” अनि लुजः सिंहको “लुम्बिनी छपुलु ” वृत्तचित्र (डकुमेन्ट्री) विभिन्न पुरस्कार जित्न सफल भएको थियो भने रत्नकाजी महर्जन लुनिभाको शर्ट मुभी “मुद्दा” प्रसंशा बटुल्न सफल भएको थियो ।

नेपाल भाषाको चलचित्र क्षेत्रको उपलब्धिको कुरा गर्दा पेज थ्री पिपल्स च्वयस अवार्ड अनि मच्छिन्द्र क्लबको आयोजनामा हुने गरेको हरेक वर्ष इन्द्रजात्राको अवसरमा नेवाः फिल्म फेस्टिभलको उपादेयतालाई पनि बिर्सन मिल्दैन । विगतका वर्षहरूमा नेपाल भाषा संकिपा समाजद्वारा आयोजना गरेको प्रथम नेपाल भाषा फिल्म फेस्टिभल अनि नेपालमण्डल टेलिभिजनद्वारा आयोजना गरेको नेवाः फिल्म नखःलाई पनि नेपाल भाषाको चलचित्र क्षेत्रको लागि एउटा उपलब्धिकै रूपमा लिन सकिन्छ । यस्तै, अमेरिकामा बसोबास गर्दै आएका नेवारहरूको प्रयासमा सम्पन्न नेपाल भाषा टाइम्स सर्ट फिल्म फेस्टिभल पनि एउटा उल्लेखनीय पाइला हो ।

यो एउटा प्रतिस्पर्धात्मक महोत्सव हो भने यसमा पुरस्कृत हुने लघु चलचित्रहरूलाई आकर्षक नगद पुरस्कारसमेत प्रदान गरिन्छ । यति मात्र नभई यो प्रतिस्पर्धामा सहभागी भएका चलचित्रहरू अमेरिकाका विभिन्न शहरहरूमा रहेका नेवारहरूमाझ प्रदर्शन पनि गरिंदै आएको छ । यसरी हेर्दा नेपाल भाषाका चलचित्रहरूले लामै यात्रा पार गरिसकेको मात्र नभई विभिन्न उपलब्धि पनि हासिल गर्दै अघि बढिरहेको देखिन्छ । [email protected]

प्रतिक्रिया दिनुहोस्