भैरहवा भन्सार नाकामा राखिएको ब्यागेज स्क्यानर मेशिनमा माकुराको वासस्थान 



यमलाल भुसाल, बुटवल । 

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक तथा आगन्तुक आउने सीमा नाका बेलियामा चाडपर्वमा नेपाल फर्किने नेपालीले  सास्ती भोग्नु परेको छ । आफूसित भएको झोलामा भएका सामानहरूको चेकजाँच एक एक गरेर गर्नुपर्ने भएको कारण नाका हुँदै नेपाल भित्रिने यात्रुहरूले सास्ती भोग्नु परेको हो ।

यता नेपाल–भारत सीमानाका बेलियामा गड्डाचौकीमा जडान गरिएको एक्सरे मेसिन प्रयोग विहीन बनेको छ । ४ वर्ष अघि भन्सार विभागले पठाएको ब्यागेज स्क्यानर प्रयोगमै नआई थन्किएको छ । भैरहवा भन्सार कार्यालयले ३ वर्ष अघि सञ्चालन गर्ने भन्दै मन्त्री नै बोलाएर रिबन काटेर उद्घाटन गरियो मन्त्री फर्केपछि उक्त मेसिन पनि पुनः थन्कियो ।

भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा राखिएको ब्यागेज स्क्यानर स्थापन भए देखी नै सञ्चालनमा आउन सकेको छैन । यात्रु शाखामा राखिएको उक्त मेसिनमा अहिले धुलोको मोटो तह लागेको छ, माकुरा लगायत अन्य किरा फट्याङ्ग्राको वासस्थान भएको छ । चार वर्षअघि भैरहवा भन्सार कार्यालयले भारतबाट आउनेले बोकेका झोला तथा ल्याएका सामग्री जाँच गर्न भन्दै जडान गरेको उक्त मेसिन प्रयोगमै आएको छैन ।

२०७४ साउन २५ गते ७२ लाख ९५ हजार रुपैयाँ खर्चेर एक्सरे मेसिन जडान गरिएको थियो । मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार र दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेहरूको जाँचमा सहज हुने अनुमान गरिएको थियो । तर मेसिन सञ्चालनमै आउन सकेन् ।

भारतमा सास्ती खेपेर आएका नेपाली कामदारहरूले स्वदेशमा समेत जाँचका नाममा दुःख पाइरहेको भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले बताउनु भयो । भैरहवा भन्सार कार्यालयले यात्रुको सहजताको लागी र कतिपय अवस्थामा जोखिमयुक्त सामाग्रीको चेकजाँचको लागी एक्सरे मेसिन राखेको थियो, तर विभिन्न कारण देखाउँदै उक्त मेसिन सञ्चालनमा आउन सकेको छैन  अध्यक्ष पन्थीले भननु भयो ।यसलाई सिघ्र सञ्चालनमा ल्याइनु पर्छ यसले यात्रुलाई सहज मात्र नभई अवैध सामाग्रीको ओसार प्रसारमा नियन्त्रण हुन्छ ।” उहाँले मेसिन सञ्चालनमा आए भन्सारका कर्मचारीलाई पनि काम गर्न सहज र छिटो हुने बताउनु हुन्छ ।

अहिले नेपालीहरू विभिन्न पर्व लक्षित गरी नेपाल फर्किरहेका छन् । सीमामा नेपालीहरूको भिड लागेको छ । तर भैरहवा भन्सार कार्यालयले सहजताको लागी ल्याएको उक्त मेसिन कहिले सञ्चालनमा ल्याउने बारे कुनै टुङ्गो छैन । भैरहवा भन्सार कार्यालयका प्रवक्ता तीर्थराज पासवानले अहिले बेलियामा बाटो निर्माणको क्रममा रहेकोले मेसिन सञ्चालनमा नल्याइएको बताउनु हुन्छ ।

“अहिले यस क्षेत्रमा अत्यधिक धुलो रहेको छ, मेसिन सञ्चालनमा ल्याए पनि धुलोले बिग्रिने डर छ ।” पासवानले भन्नु भयो “त्यस कारण पनि यसको स्थायी समाधान नहुँदा सम्म मेसिन सञ्चालनमा आउन गाह्रो छ ।”अहिले एउटा मेसिनले मात्रै ब्यागेज स्क्यान गर्न गाह्रो हुने भएकोले थप २ वटा मेसिन माग गरिएको पनि पासवानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्