‘ऊर्जाको पहुँच विस्तारपछि जलवायु परिवर्तन न्यूनीकरण’



काठमाडौँ, (नेस) ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनमार्फत् ऊर्जाको पहुँच विस्तार गर्दै नेपालले जलवायु परिवर्तनविरुद्ध लड्न उल्लेख्य भूमिका खेलेको बताउनु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५औँ बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले सो कुरा बताउनुभएको हो ।

ऊर्जाले गरिवी निवारणमा भूमिका खेल्नुपर्ने बताउँदै मन्त्री भुसालले जहाँ जमिन त्यहाँ सिंचाइ सुविधा पुर्‍याउन आफू प्रयासरत रहेको बताउनुभयो । उहाँले नेपालीको भान्साबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य आफूले लिएको बताउनुहुँदै यसले व्यापारघाटा कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले केन्द्रले ऊर्जाका पहुँच नभएका दुर्गम वस्तीमा ऊर्जा पुर्‍याएर सह्रानीय काम गरेको बताउनुभयो । सचिव कार्कीले मन्त्रालयले सरल प्रक्रिया वनाई लघु तथा साना जलविद्युत्लार्ई राष्ट्रिय प्रसारणमा जोड्ने बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनको लागि मन्त्रालयले निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउँदै सँगै लिएर हिँड्ने बताउनुभयो । त्यस्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायत सरकारले विगतदेखि नै नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सहयोग गर्दे आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउनु भयो । केन्द्रका कार्यकारी निर्देशक डा। मधुसुधन अधिकारीले केन्द्रका २५ वर्षका मुख्य उपलब्धिको चर्चा गर्दै नेपालमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विस्तार गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । हालसम्म केन्द्रअन्तर्गत निजी क्षेत्र र स्थानीय सरकारसँगको सहकार्यमा संचालित विभिन्न कार्यक्रमहरु मार्फत् लघु जलविद्युतबाट ३६ मेगावाट विद्युत उत्पादन मार्फत् २ लाख ४७ हजार घरधुरीले विद्युतीकरणको सेवा पाएका छन् ।

त्यस्तै ९ लाख ६१ हजार घरेलु सौर्य विद्युत प्रणाली र १६ लाख सुधारिएको चुलो जडान हुनुका साथै ११ हजार पानी घट्टको सुधार भएको छ । शहरीे क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्रीफार्मबाट निस्कने सुली र गाईफार्मबाट निस्कने गोवरलगायतको प्रयोग ३ सय ४४ ठूलासहित ४ लाख ३३ हजार बायोग्यास प्लान्ट जडान भएका छन् । केन्द्र अन्तर्गत हालसम्म जडित यस्ता नवीकरणीय ऊर्जा प्रविधिहरु मार्फत् देशका करिव ३५ लाख घरधुरी लाभान्वित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्