सेनाले पदमार्गमा निर्माण गरेका दुई शौचालय हस्तान्तरण



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेना कालिजंग गण धुलिखेलले ऐतिहासिक स्थलहरुमा तय गरेका पदमार्गहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने उदेश्यका साथ छनौट भएका पदमार्गहरुलाई ब्यवस्थित बनाउन निर्माण गरेका दुई शौचालय स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहले विक्रम सम्वत १८०३ देखि १८२० सम्म काभ्रेपलाञ्चोक जिल्लामा प्रयोग गरेका स्थानहरुलाई ६ वटा पदमार्गका रुपमा छनौट गरिएको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले बताउनु भयो ।

नगरकोट, अनेकोट, पलाञ्चोक, भमरकोट, काभ्रेकोट, तेमालकोट, चौकोट, शारदाकोट, पनौती, श्रीखण्डपुर, बनेपा, साँगा, नाला, जस्ता ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानहरुको पहिचान नेपाली सेनाले गरेको थियो । एकिकरणको समयमा शारदाकोटमा भ्यु प्वाईन्टको रुपमा प्रयोग गरेको स्थानीयहरुले बताएका छन् भने धुलिखेलको देविस्थानलाई काभ्रेकोटका रुपमा प्रयोग गरिएको थियो । पृथ्वीनारायण शाहले सोही स्थानमा देविको मन्दिर स्थापना गरी लडाँई लडेको ऐतिहासिक पक्षलाई नेपाली सेनाले संरक्षण, प्रर्वद्धन गरिरहेको छ ।

यस अघि कालिजंग गण धुलिखेलले पदमार्गको पाँचौ रुटमा पर्ने काभ्रेकोट–शारदाकोट–पनौतीसम्मको १० किलोमिटरको पदयात्रा कार्यक्रम सम्पन्न गरेको थियो । सोहि पदयात्राका क्रममा पदमार्गमा आवश्यक पर्ने पूर्वाधार निर्माण तथा अन्य विषयको अवलोकन गरी तत्काल काभ्रेकोट देविस्थान र शारदाकोटमा पार्क सहितको शौचालय निर्माण गर्ने योजना बनाएको थियो ।

धुलिखेल नगरपालिकाले देविस्थान क्षेत्रमा पहिलो चरणमा पार्क निर्माणमा २ करोड रकम खर्च गरिसकेको छ भने दोश्रो चरणमा ५ करोड रकम खर्च गर्ने गरी बोलपत्र आब्हान गरिसकेको छ । पृथ्वीनारायण शाह, बलभद्र कुँवरको शालिक सहितको पार्क निर्माण गरी आउने पुस्तालाई ऐतिहासिकता, सांस्कृतिक र नेपालको विविधताका बारेमा जानकारी गराउने गरी पर्यटकीय स्थल निर्माण गरिरहेको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

‘ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको देविस्थान काभ्रेकोटमा पार्क तथा इतिहास बोकेका ब्यक्तिहरुको शालिक निर्माण गरिएको छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘पर्यटकीय क्षेत्रको विकास र ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने योजनामा नेपाली सेनाको समन्वय र सहकार्य महत्वपूर्ण छ ।’

नेपाली सेनाले सोही क्षेत्रमा ८ लाख रुपैयामा शौचालय निर्माण गरेको छ भने पनौतीको शारदाकोटमा १० लाख रुपैयामा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।

नेपाली सेनाले निर्माण गरेका शौचालयहरुको संरक्षण, नियमित मर्मत सम्भार तथा पदमार्गमा आउने यात्रुहरुको लागि सहज हुने गरी ब्यवस्थापन गर्न स्थानीय सरकारलाई हस्तान्तरण गरिएको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले बताउनु भयो ।

कर्णेल थापाले धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र पनौती नगरपालिका प्रमुख भिम न्यौपानेलाई शौचालय निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । पनौती ५, ८ र ९ नम्वर वडाको सिमामा पर्ने उक्त शौचालय वरपर पार्क निर्माण गरिएको छ । पार्कमा ऐतिहासिक क्षेत्र र पदमार्गका बारेमा जानकारी दिने सूचना पार्टी राखिएको छ ।

पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले नेपाली सेनाले निर्माण गरी हस्तान्तरण गरेको शौचालय र पार्कको संरक्षण स्थानीय सरकारले गर्ने बताउनु भयो । स्थानीयहरुले उक्त क्षेत्रलाई शारदाकोट पृथ्वीगढी र अग्निकोट भन्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले निर्माण भएका संरचनाहरुको ब्यवस्थापन सही ढंगले हुन सकेको अवस्थामा पदमार्गको पहिचानका लागि भएको प्रयास सार्थक हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्