प्रधानन्यायाधीशको राजीनामा नै सम्मानजनक बहिर्गमन



रोशन पराजुली, हेटौंडा ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जतिसक्दो छिटो पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरले शुभ दीपावली, छठ र नेपाल संवत्का अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो–‘प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन चाहनुभएको छ । उहाँले जति चाँडै राजीनामा दिनुहुन्छ, त्यति नै चाँडो सम्मानजनक बहिर्गमन हुनेछ ।’

नेपालीहरूको अथाह विश्वास रहेको न्यायपालिका पछिल्लो केही वर्षमा ‘ध्वस्त हुने क्रममा रहेको’ भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । पहिले र हालका प्रधानमन्त्रीसँगको ‘सेटिङ’ का कारण यस्तो हालत भएको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो– ‘संवैधानिक निकाय र राजदूत नियुक्तिमा सेटिङका कारण अहिलेको अवस्था आएको हो । प्रधानन्यायाधीशले पद छाड्न जति ढिलो गर्नुभयो, उहाँले गरेका नराम्रा काम त्यति नै बाहिर आउने भएकाले चाँडो पद छाड्न आग्रह गर्दछु ।’

नेता पौडेलले न्यायालयभित्र सिर्जना भएको दुःखद अवस्थामा पार्टी संस्थागतरुपमा मौन बसेकाले आफूहरूले बोलेको स्पष्ट पार्नुभयो । ‘न्यायालयको यस्तो हालत लम्ब्याउनु हुँदैन । अदालत बर्बाद हुन लागेकोमा हामी चिन्तित छौं’ –पौडेलले भन्नुभयो ।
सत्तारूढ दल नेपाली कांग्रेसका १२ नेताहरूले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिन पार्टीसमक्ष आग्रह गरिसकेको अवस्थामा नेता पौडेलको यस्तो भनाइ आएको हो । हाल न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका लागि खेलेको भूमिकालाई लिएर प्रतिशोध साँध्ने काम भइरहेको भन्दै उनीहरूले कांग्रेस हालको अवस्थामा मौन बस्न नहुने बताएका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा न्यायालय सञ्चालन गर्न अक्षम भएको आरोप लगाउँदै १५ न्यायाधीशले इजलास छाडेको अवस्थामा कांग्रेस नेता पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउनुभएको हो । नेपाल बार एसोसिएसनले पनि न्यायालय शुद्धीकरणका लागि जबराले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।

सर्वोच्च अदालतमा आइतबार उपस्थित प्रधानन्यायाधीशबाहेक १७ न्यायाधीश छलफलमा रहेका बेला एक न्यायाधीशमार्फत् प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाउनुभएको थियो । २७ मंसिरमा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने जबराले २०७९ असार मसान्तबाट बिदा हुने सांकेतिक सन्देश पठाउनुभएको हो ।

आफ्नै घरको प्रसंगमा नेता पौडेलले प्रश्न गर्नुभयो– ‘साढे पाँच वर्षसम्म पनि कांग्रेसले आफ्नो पार्टीभित्र चुनाव गराउन नसक्नेले अन्य चुनावमा भाग लिन सक्छ कि सक्दैन ? पौडेलले अरूको वैशाखी टेकेर उभिने पार्टी कांग्रेस हुनै नसक्ने बताउनुभयो । उहाँले हालको पाँच दलीय गठवन्धनबाट बनेको आफ्नो पार्टी नेतृत्वको सरकारप्रति लक्षित गर्दै यस्तो प्रश्न गर्नुभएको हो ।

कांग्रेसभित्रबाट सुधारको खाँचो औंल्याउँदै उहाँले पार्टीका क्रियाशील सदस्यको विवाद अझै नटुङ्ग्याइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । ‘हालको अवस्थामा पार्टीको हालत र संवैधानिक निकायको यस्तो हालत कसले बनायो,’ प्रश्न गर्नुभएका उहाँले कांग्रेसमा निर्णय गर्ने क्षमता हराइसकेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाप्रति उहाँले प्रश्न थप्नुभयो– ‘संघीय सरकारको मन्त्री नियुक्तिमै तीन महिना लाग्छ ?’

नेता पौडेलले आन्तरिक महाधिवेशन र निर्वाचन गर्न नसक्ने कांग्रेसको वर्तमान नेतृत्वबाट चुनाब गर्छु र सोही चुनावमा प्रतिस्पर्धा गर्छु भन्नु अनौठो कुरा भएको बताउनुभयो । थोरै मान्छे लिएर पार्टी कब्जा गर्ने परिपाटी त्याग्न नेतृत्वलाई सुझाव दिनुभएका उहाँले पार्टीभित्रको तानाशाही प्रवृत्ति त्याग्न आग्रह गर्दै भन्नुभयो– ‘कांग्रेस महाधिवेशन गरौं र पार्टीभित्रको तानाशाही फालौं । जसले जिते पनि केही हुँदैन । कांग्रेसले सिंगो राष्ट्रलाई बोक्नुछ ।’ एउटा मापदण्डका आधारमा पार्टी एक हुनुपर्ने र पार्टी भित्रैबाट सुध्रनु जरुरी रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो– ‘महाधिवेशन भएको साढे पाँच वर्षसम्म अधिवेशन गर्न नसक्ने नेतृत्वले प्रतिनिधिसभासहित अन्य निर्वाचनमा भाग लिने कुरा कसरी मिल्छ । आफ्नै चुनाव गराउन नसक्ने कांग्रेसले अरू चुनाव गर्छ भन्ने के ग्यारेन्टी ?’ उहाँले देउवाको नेतृत्व अधिनायकवाद, तानाशाही शैली भएको आरोप लगाउँदै महाधिवेशनबाट अधिनायकवादका अवशेषहरू सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्