नगरकोट सडक ७ वर्षदेखि अलपत्र पारेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण



पुष्कर बुढाथोकी, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाले कमलविनायकदेखि नगरकोटसम्मको सडक ७ वर्षदेखि अलपत्र पारेको भन्दै शीघ्र निर्माणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । नगरपालिकाले आज जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

नगर प्रमुख सोमप्रसाद मिश्रले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई उक्त पत्र हस्तान्तरण गर्नुभयो । समयमा सडक नबन्दा पर्यटक र स्थानीयवासीहरु वर्षाको समयमा हिलो र हिउँदमा धुलो सहन बाध्य भएको पत्रमा उल्लेख गरिएको छ ।

भारतीय कम्पनी एआईपीएल र शैलुङ कन्ट्रक्सनले सडक चौडा र कालोपत्रे गर्न २०७५ असार ३ गते सम्पन्न गर्ने गरी २०७१ असार २ गते ठेक्का सम्झौता गरेका थिए । कम्पनीले ठेक्का सम्झौता गरेको ७ वर्ष बितिसक्दा पनि सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानियवासी र नगरकोट घुम्न आउने पर्यटकहरुलाई प्रभाव पारेको नगरपालिकाको भनाइ छ ।

लामो समयसम्म सडक निर्माणको काम सम्पन्न नहुँदा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटकको आवागमनमा समेत न्युन हुँदै गएकोसमेत नगरपालिकाले उल्लेख गरेको छ ।नगरपालिकाले सो सडकको ठेक्का सम्झौता रद्द गरी अर्को प्रक्रिया सुरु गर्न वा स्रोत सहित स्थानीय सरकारलाई आयोजना हस्तान्तरण गर्न माग गरेको नगरप्रमुख मिश्रले बताउनुभयो ।

उक्त सडक सम्बन्धमा १ महिनाभित्र आफ्ना माग पुरा नभएमा जुनसुकै कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत नगरपालिकाले दिएको छ ।‘ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदार भनेर चिनिने शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनविरुद्ध चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री कहाँ उजुरी दिएको हो ।

स्थानीय सरकारको हैसियतमा यसअघि नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायी संघीय सरकारको आयोजना कार्यालय, मन्त्री र विभिन्न पार्टीका नेता र संघीय संसदको विकास समिति, अर्थ समितिमा पटक पटक लिखित तथा मौखिक प्रयास गरीसकेको तर हालसम्म कुनै प्रगति नभएपछि प्रधानमन्त्री कहाँ उजुरी दिएको नगरउपप्रमुख बिना बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्