तिहार नजिकिएसँगै कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ



पुष्कर बुढाथोकी, भक्तपुर । 

तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दिपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याइ नभ्याइ भएको छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो ।

भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाडौं, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ । तर, यस वर्ष पनि कोभिड संक्रमणका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ हरेक वर्ष व्यापारीले तिहारअघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन् । तिहार नजिकिँदै गएको र अर्डर अनुसारको पाला, धूपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइ नभ्याइ भएको भक्तपुर नगरपालिका–१२ पोटरी स्क्वायरका राजेश प्रजापतिले बताउनुभयो ।

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ । पाला बनाउने प्रजापतिको संख्या घटेपछि पेशा अंगाल्दै आएकाहरूलाई भने पाला बनाउन भ्याइ नभ्याइ भएको हो ।पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको मागसमेत उच्च हुने गरेको छ तर तिहारमा बिजुलीका रंगीचंगी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रूपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउनुहुन्छ ।

विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो ।कुमालेहरूले तयार भएको पाला होलसेल व्यापारीहरूलाई बिक्री गरिन्छ । होलसेल व्यापारीहरूले एउटा पालाको एकदेखि दुई रुपियाँमा हजारौंको संख्यामा खरिद गर्ने र उनीहरूले केही मुनाफा खाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्तामाझ पु-याउने गरेको रामप्रसादले बताउनुभयो ।

कोरोना संक्रमण, माटोको अभाव र प्लास्टिकका भाँडाको बढ्दो प्रयोगका कारण यो पेसा संकटमा परेको कुमालेहरूले गुनासो गरेका छन् । परम्परागत रूपमा काठ तथा गाडीको टायरबाट बनेको गोलो चक्रबाट माटोको भाँडा बनाउँदै आएका जिल्लाका कुमालेहरूलाई आधुनिक विद्युतीय मेसिनले काममा छिटो र सजिलो भने पारिदिएको बुद्धिराम प्रजापतिले बताउनुभयो ।भक्तपुर र थिमीमा झण्डै तीन सयभन्दा बढी घरपरिवार कुमाले माटोको भाँडा बनाउँदै आएकोमा अहिले विस्थापित हुँदै करिब १५० घरपरिवारमा सीमित भएका छन् ।

युवा पुस्तामा यसतर्फको आकर्षण घट्दै जानु र पुराना पुस्ताले मात्र यो पेसा धान्नुपर्ने अवस्थाले थप समस्या पारेको छ ।माटाको भाँडाको माग घटेको भन्दा पनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताउनुभयो । माटो नपाएकै कारण अबको आठ-दश वर्षमा पेसा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना देखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्