ग्रामीण सडक खुलेनन्, खच्चरमार्फत खाद्यान्न ढुवानी



विनोदसिंह विष्ट, बैतडी । 

दशैंमा समेत अवरुद्ध रहेका बैतडीका ग्रामीण सडक पुनः अवरुद्ध भएका छन् । वर्षात्को समयदेखि बन्द रहेका ग्रामीण सडक दशैंमा पनि खुलेका थिएनन् । वर्षाका कारण गत हप्तादेखि फेरी यहाँका अधिकांश ग्रामीण कच्ची सडक अवरुद्ध भएका हुन् । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको अविरल वर्षाका कारण यहाँका ग्रामीण सडक अवरुद्ध भएका हुन् ।

वर्षाले अवरुद्ध जिल्लाको छेला दुर्गाभवानी सडक, ढोल्यामोड–हाट सडक, सतबाँझ–सुर्नया, दुदिलाखान गाँजरी सडक, अनारखोली कैलपाल सडक, सिल्लेगडा–कटौजपानी सडक, ढुंगाड–गर्जे, सिल्लेगडा–रिमलगायतका सडकहरू अझै चालू नभएका हुन् ।ग्रामीण सडक सञ्चालनमा नआउँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ भने खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ ।ग्रामीण सडक अवरुद्ध तथा हिलाम्य हुँदा जिप सञ्चालनमा समस्या भएको जिपचालक वीरेन्द्र महराले बताउनुभयो । सतबाँझ–सुर्नया सडकको कतिपय ठाउँमा हिलोका कारण यात्रुहरूलाई जिपबाट उतारेर धक्का लगाई अगाडि बढाउनु पर्ने बाध्यता रहेको हो ।

सडक अवरुद्ध भएपछि अत्यावश्यक सेवा, खाद्यान्न सामान ढुवानी गर्न र आवतजावतमा समस्या भएको छ । ग्रामीण सडकहरू सञ्चालनमा ढिलाइ हुँदा दशैं मान्नका लागि गाउँ आएकालाई फर्किनसमेत सकस भएको छ ।सम्बन्धित निकायले समयमै चालु गर्ने प्रयास नगरिदिँदा स्थानीयलाई सास्ती हुने गरेको छ । स्थानीय तहहरूले डोजर लगाएर खनेका अधिकांश सडक अवरुद्ध बनेका स्थानीयले बताएका छन् । सडक खुलाउन अझै कहीँकतैबाट प्रयास नभएको समेत स्थानीय गुनासो रहेको छ ।

सडकहरू बन्द ग्रामीण भेगका बजारहरूमा व्यापारीहरूले हरेक सामानको मूल्य वृद्धि गरी बिक्रीवितरण गर्ने गरेका छन् । यातायातका साधन बन्द हुँदा खच्चर तथा भरियाहरूमार्फत व्यापारीहरूले सामान ढुवानी गर्ने गरेका र हरेक सामानमा महंगी भएको नागरिकहरूले गुनासो गरेका छन् ।

ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत महंगिएको दोगडाकेदार गाउँपालिका १ रिमका स्थानीय बासिन्दा कृष्ण साउँदले जानकारी दिनुभयो । वर्षातका कारण उक्त सडकखण्ड विभिन्न ठाउँमा भत्किएको छ भने कुनै ठाउँमा माथिबाट पहिरो आएको छ । स्थानीय व्यापारीहरूले भरियामार्फत सामान ढुवानी गर्ने गरेका छन् । उहाँले भन्नुभयो– ‘सडक सञ्जाल विस्तार भए पनि रिमबासीहरूले अहिले पैदल यात्रा गर्नुपर्ने बाध्यता छ भने दशैं तिहारका लागि गाउँ फर्किनेहरू सिल्लेगडाबाट झण्डै ५ घण्टाको पैदल यात्रा गरी घर पुग्ने गरेका छन्, सामानको मूल्य पनि बढेको छ ।’

स्थानीय तहहरूले आफ्नो मातहत रहेका कच्ची सडकहरू सञ्चालन गर्न ढिलाइ गरेका हुन् । यता जनप्रतिनिधिहरूले भने ग्रामीण सडक खुलाउने कार्य भइरहेको बताएका छन् । शिवनाथ गाउँपालिकामा अवरुद्ध रहेका सडकहरू खुलाउनका लागि डोजरको प्रयोग गरिएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । यस्तै अन्य स्थानीय तहहरूले पनि सडक खुलाउने कार्य भइरहेको जनाएका छन् ।
असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म अविरल वर्षाका कारण बैतडीमा चार जनाको मृत्यु भएको छ भने करोडौंको धनमालमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्