निर्माणमैत्री कानुन बनाउन महासंघको माग



काठमाडौं (नेस) ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले विकास निर्माणका कामहरू तोकिएको समयमा नै गुणस्तरीयरूपमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको बिहीबारको भेटमा मन्त्री यादवले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित निकायहरू आ—आफ्नो कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।

निर्माण व्यवसायीहरूलाई काम दिइने पुरानो परिपाटीमा सुधार आवश्यक भएको मन्त्री यादवले बताउनुभयो । निर्माण क्षेत्रमा आएका समस्या समाधानका लागि सूक्ष्म अध्ययन आवश्यक भएको मन्त्री यादवको भनाइ थियो ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवसमक्ष निर्माण व्यवसायीहरूको समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ ।

साथै, महासंघले विभागीय मन्त्रीको रूपमा यादवको सफल कार्यकालका लागि बधाईसहित शुभकामना व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डले हाल संसद्मा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रूपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँंग सम्बन्धित कानुनहरू निर्माणमैत्री हुने गरी संशोधन गरिनुपर्ने माग मन्त्री यादवसमक्ष राखेको छ ।

महासंघ प्रतिनिधि मण्डलले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धि लगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री यादवलाई बुझाएको छ ।

हाल संघीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका निकायहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्देशिकाविपरीत आफूखुसी क्राइटेरियामा निश्चित मापदण्डमा आर्थिक मिलोमतो गरी आफूअनुकूल हुने गरी राखिएको हुँदा यस्ता शर्तहरू तोकिने प्रथाको अन्त्य गर्नका लागि संघीय सरकारबाट तत्काल सम्बन्धित निकायलाई निर्देशन गर्नुपर्ने माग महासंघले राखेको छ ।

भेटमा महासंघका अध्यक्ष सिंहसँगै सल्लाहकार गेल्जे शेर्पा, एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर, उप–निर्देशक आसित अधिकारी र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्