मझगाँउ विमानस्थल सुचारु गरेरै छोड्छु : मन्त्री आले



विमल विष्ट, काठमाडौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सुचारुका लागि पहल भइरहेको बताउनु भएको छ ।

आज बुधवार उक्त विमानस्थलको निरीक्षण अवलोकनका लागि पुग्नु भएका मन्त्री आलेले विमानस्थलको स्तरोन्नति गरी चाडै नै विमानस्थल सुचारु गरेर नागरिकलाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, “विमानस्थलको केही क्षेत्रफल बिस्तार गर्नु पर्ने देखिएको छ, चाडै नै कामको सम्झौता गराएर बन्द रहेको विमानस्थल सुचारु गराएरै छोड्छु ।”

विमानस्थलको अवलोकन निरीक्षणका लागि पुग्नु भएका मन्त्री आलेलाई त्यहाँका नागरिकले विमानस्थलको दक्षिणतर्फ सेनाको ब्यारेकसम्म कम्तीमा पनि ५०० मिटर क्षेत्रफल विस्तार गरी सञ्चालन गर्नु पर्ने सुझाव दिएका थिए ।
नागरिकले दिएको सुझावमा मन्त्री आलेले एक हजार ५२४ मिटर रनवे रहेको मझगाँउ विमानस्थलको दक्षिणतर्फ थप वृद्धि गरीनिकट भविष्यमै यो विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “विमानस्थल बन्द अवस्थामा रहन दिइने छैन, सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी चाडै विमानस्थल सञ्चालनमा आउँछ ।”यसै गरी मन्त्री आलेले कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउने लक्षअनुसार काम अगाडि बढाइएकाले यहाँका नौ वटै जिल्लाका विमानस्थलहरू सुचारु भएरै छोड्ने दाबी गर्नु भयो ।

सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थल खप्तड, रामारोसन, लगायतका क्षेत्रमा पर्यटकलाई अक्रर्सित गराउनका लागि भएपनि गेटा विमानस्थल क्षेत्रीय विमानस्थल बनाउनु पर्ने र अन्य पहाडी जिल्लाका विमानस्थल पनि सुचारु गर्नु पर्ने अवस्था सृजना भएको मन्त्री आलेको धारणा थियो । तीनै तहका (स्थानीय, प्रदेश र संघीय) सरकार मिलेर यहाँका बन्द रहेका सबै विमानस्थल सञ्चालनका लागि अग्रसर हुनु पर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्