हिउँमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार



किमाथाङ्का ।

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ । मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात नेपाली मकालु आधार शिविर पुगेका थिए ।

मकालु आधार शिविरको हिउँमा काठमाडौँका अनोज चुडाल, सोलुखुम्बुका जङ्ग कुलुङ राई, दीपक कुलुङ राई, दीनेन्द्र कुलुङ राईलाई हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको बताउनुभयो । विष्णु र तेञ्जिङ मकालु–२ को लाङमालेमै रहेको कार्कीले बताउनुभयो ।

मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौँ लगिएको थियो । गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।

मृत्यु भएका विदेशी पर्यटकको शव उठेन

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको शव चार दिन बित्दा पनि उठ्न सकेको छैन ।

गत शुक्रबार मकालु–२ मकालु आधार शिविरमा एडर्शनको मृत्यु भएको थियो । मृतक एडर्शनको शव कानूनी प्रक्रिया सकेपछि मात्र उठ्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्