पनौती सुब्बा गाउँमा मुक्तिनाथ मन्दिर २५ गतेदेखि सर्वसाधारणका लागि खुल्ने



मोतीराम तिमल्सिना, काभ्रे ।

२०७४ साल असोज ७ गते शिलान्यास गरिएको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँको मुक्तिनाथ मन्दिर दशैको पञ्चमी तिथी अथार्त यही असोज २५ गते सोमबारबाट शुभारम्भ गर्न लागिएको छ । मन्दिर शुभारम्भ सँगै सर्वसाधारणका लागि खुल्ला हुनेछ ।

स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै हुनेछ । ‘मन्दिरको पूर्वाधार निर्माण सम्पन्न भएकाले असोज २५ गते प्राण प्रतिष्ठा गरेर वैदिक विधि अनुसार नियमित पूजा सुरु हुनेछ’– मन्दिर निर्माण व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाले भन्नुभयो–‘निर्माणका केही कामहरू बाँकी छन् । ९५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

प्राण प्रतिष्ठा सहित मन्दिर दर्शनका लागि खुल्ला गरिनेछ ।’ मुक्तिनाथ मन्दिरका अलावा मन्दिरमा बस्ने पुजारी भवन, पानीका लागि डिप बोरिङ, २७ हजार लिटर क्षमता भएको पानी ट्याङ्की २ वटा, बहुउद्देश्यीय भवन, शौचालय, धारामा नुहाए पछि महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, पोखरी, १ सय ८ धारा र बगैँचा निर्माणको कार्य सम्पन्न भएको अध्यक्ष गोपालबहादुर थापाले बताउनु भयो ।

‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर रहेछ’–अध्यक्ष थापाले भन्नुभयो–‘तीन तल्ले यो मन्दिरमा प्राण प्रतिष्ठासँगै दुई वटा पाटी, १०८ धारा, महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, बाथरुम, बहुउद्देश्यीय भवन, मन्दिर प्रवेशद्वार, प्रवेशद्वारबाट मन्दिरसम्म जाने सिँढी, वरिपरि वाल सहितको कम्पाउन्ड लगायतका अन्य संरचनाहरू निर्माण सम्पन्न भई सकेका छन् ।’

मन्दिर भित्र प्रवेश गरे लगत्तै भक्तजनहरूको मनमा आनन्द उत्पन्न हुने छ । २०७७ भित्र निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्ने योजनामा कोभिड तथा अन्य केही प्राविधिक कारण रहेको अध्यक्ष थापाले बताउनु भयो । यसै वर्ष माघ महिनामा सुरु हुने पनौतीको १२ वर्षे मकर मेलामा देशभरका झत्तजनहरुले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।

दाताहरूको सहयोग, स्थानीय सरकार पनौती नगरपालिका, प्रदेश सरकारको समेत सहयोगमा निर्माण भइरहेको मन्दिरका लागि रकम अभाव टार्न दाताहरूको सक्रियता रहेको अध्यक्ष थापाले बताउनु भयो । मन्दिर निर्माणका लागि दाताहरूले विभिन्न क्षेत्रबाट सहयोग फु¥याउन सक्ने अध्यक्ष थापाले बताउनु भयो ।

१ करोड ६७ लाख सङ्कलन

मन्दिर निर्माणका लागि पनौती नगरपालिकाले २४ लाख ३७ हजार, बागमती प्रदेश सरकारबाट २३ लाख ६६ हजार, स्थानीय गलेश्वर ठुल्ढुङ्का सामुदायिक वनबाट ३ लाख, भागवत महापुराणबाट २ लाख ८९ हजार, नागरिक स्तरबाट १ करोड ६ लाख गरी १ करोड ६७ लाख ५ हजार २ सय ४० रुपैयाँ आम्दानी भएको छ ।

मन्दिरको बृहत् योजना

मन्दिर निर्माणसँगै आवश्यक पर्ने अन्य भवनहरू निर्माण गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विभिन्न क्षेत्रका दाताहरूको सहयोगमा निर्मित मन्दिरमा साँझको समयमा भजन कीर्तन गर्न सकिने छ भने दैनिक एक घण्टा प्रवचन गरिने छ’–अध्यक्ष थापाले भन्नुभयो– ‘मन्दिरमा आयोजना हुने विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्यमा सहभागी हुने व्यक्तिहरूको सहजताका लागि पनि बहुउद्देश्यीय भवन बहुउपयोगि हुनेछ ।’

भवनमा मुक्तिनाथ धामको पूजाको विधि गर्न सक्ने आचार्य पण्डितका लागि स्थायी बसोबासको व्यवस्था गरी मन्दिरको नित्य पूजा गरिनेछ ।

निरन्तर समाज सेवामा

साबिक सुब्बा गाउँ गाविस निवासी गोपालबहादुर थापाको पेसा नै समाज सेवा हो । सामुदायिक बन, रेडक्रस लगायतका क्षेत्रमा क्रियाशील थापा साबिक सुब्बा गाउँ गाविसका अध्यक्ष, पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।

विभिन्न क्षेत्र मार्फत थापाले सामाजिक अभियानमा आफूलाई निरन्तर क्रियाशील बनाई रहनु भएको छ । गम्भीर प्रकृतिको रोगसँग लडिरहनु भएका थापाको ईच्छा नै मन्दिरको निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्नु हो ।

त्यसका लागि थापाले सहयोगी दाताहरूसँग मन्दिरका लागि आवश्यक पर्ने रकम तथा अन्य सामाग्री जुटाउन क्रियाशील रहनु भएको छ । मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पुग्न नसक्ने भक्तजनहरूका लागि सुब्बा गाउँमा रहेको मन्दिरमा आउने गरी मन्दिर निर्माण गरिएको अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्