दातासँग पुनर्निर्माणको अनुभव साटिने



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारबीच हालसम्म भएको कामको समीक्षा भएको छ । समितिको १०औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु सम्प्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।

कार्यक्रममा विश्व बैंक, एडीबी, युएनडीपी, जाइका, एफसीडीओ, युएसएआइडी, युनिसेफ, युएनओपिएसलगायतका विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधिले नेपालको पुनर्निर्माणमा आ–आफ्ना निकायको प्राविधिक तथा वित्तीय सहयोग तथा प्रगतिको बारेमा धारणा राखेका थिए । कार्यक्रममा एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले नेपालको उत्थानशीलतामा प्राधिकरणसँग सहकार्य गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै बाँकी रहेका काम सम्बन्धित निकायमा हस्तान्तरणको प्रक्रिया सहज ढंगले हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै विश्व बैंकका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकबरले विपद् जोखिम न्यूनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैंकको सहयोग निरन्तर रहने बताउँदै देशैभरिका विद्यालयहरुको संरचनात्मक सामथ्र्य अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गरेको जानकारी दिनुभयो ।

जाइकाकी कन्ट्री डाइरेक्टर युमिको आसुकुमाले जाइकाको सहयोग केवल भूकम्पपछिको भौतिक पुनर्निर्माणमा मात्र नभएर आगामी दिनमा आउनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पनि भएको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्नका लागि सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणमा मित्र राष्ट्र एवं विकास साझेदारबाट प्रदान गरिएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गर्नुभयो ।

पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव अन्तर्राष्ट्रिय समुदायसामु बाँड्न मंसिर २१–२३ मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्