रावल अपहरण काण्ड: प्रहरीमाथि नै अनुसन्धान गर्न छानबिन समिति गठन



A view of Kathmandu District Court in Babarmahal, Kathmandu. Photo: Nishant Pokhrel/THT Online

नेपाल समाचारपत्र, काठमाडौं ।

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती रहनुभएको छ ।

अपहरणको आरोपमा पक्राउ परेका दुर्गाबहादुर बुढाथोकीलाई नाम नमिलेको भन्दै जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गरेपछि प्रहरीले चरम लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो ।

समितिलाई प्रकरणमा प्रहरीको भूमिकाबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउने कार्यदेश दिइएको छ । गत मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले भ्याली कोल्ड स्टोरका सञ्चालक रावलको अपहरणमा संलग्न भनिएका कुमार बुढाथोकीलाई सफाइ दिएको थियो ।

अभियोग दाबी नपुग्ने फैसला गर्दा न्यायाधीश निरौलाले आरोपित नेपाली नागरिक भएको पुष्टि हुन नसकेको जिकिर गर्नुभएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ पुसमा सर्लाहीका बुढाथोकीलाई पक्राउ गरेको थियो ।

बुढाथोकीले अदालतमा आफू नेपाली नागरिक नभई भारतीय नागरिक प्रकाश क्षेत्री भएको प्रमाण पेस गर्नुभएको थियो । क्षेत्रीले भारतबाट लिएको आधार कार्ड र जन्मदर्ता देखाएका थिए जसलाई आधार बनाएर न्यायाधीश निरौलाले उनलाई सफाइ दिनुभएको थियो ।

प्रहरीले अभियोग पत्र पेस गर्दा उनी नेपाली नागरिक भएको प्रमाण पेस नगरेका कारण अदालतले उनलाई सफाइ दिने फैसला गरेपछि घटनाको अनुसन्धान गर्ने प्रहरीमाथि प्रश्न उठेको थियो ।

सर्लाहीको बागमती नगरपालिका–२ का बासिन्दा रहेका बुढाथोकीको बारेमा अनुसन्धान गर्ने अधिकृतहरू चुकेकाले उनीहरूको अनुसन्धानमा नै आशंका गर्ने ठाउँ रहेको एक प्रहरी उच्च अधिकारी बताउँछन् ।

केही वर्षअघि मुलुकभर भएका शृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रल्हाद महतको समूहमा रहेर काम गरेका बुढाथोकीको रिहाइपछि प्रहरीको अनुसन्धानमाथि पुनः एकपटक प्रश्न उठेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नै पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मामा लगाएका व्यक्तिको अनुसन्धान गरी अभियोजन तयार पार्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउन छानबिन समिति गठन गरेको एआईजी पालले जानकारी दिनुभयो ।

अमर टण्डन, उदय सेठ्ठी, प्रल्हाद महतको समूहले २०६५ सालको पुस १ गते रावललाई अपहरण गरी महाराजगञ्जस्थित एउटा घरमा बन्धक बनाएर राखेको थियो । अदालतबाट सफाइ पाएका बुढाथोकी रावललाई बन्धक बनाएर राखेको घरमा कुरुवाको रूपमा बसेका थिए ।
काठमाडौं प्रहरीले प्रहरी निरीक्षक नानीकाजी थापालाई अनुसन्धान अधिकृत तोकेर छानबिन अघि बढाएको थियो । झन्डै एक महिनापछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा पनि काठमाडौं प्रहरीले मिसिलमा प्रकाश क्षेत्री नाम भएको दाबी गर्ने भारतीय रासन कार्ड बोकेका व्यक्तिकुमार बुढाथोकी हुन् भन्ने प्रमाणित गर्ने आधार संकलन नगरी फाइल पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्