बेरुजु बढ्दा आर्थिक सुशासनमाथि प्रश्न



हेटौंडा, (नेस) ।

मकवानपुरको बागमती गाउँपालिकाको बेरुजु वृद्धि भएकोप्रति नागरिक समाज मञ्चले चिन्ता जनाएको छ । समाजले बेरुजु अन्त्यका लागि ध्यानाकर्षणपत्र बुझाएको छ ।समाजले बागमती पालिका अध्यक्ष सर्केश घलानलाई ध्याना कर्षणपत्र बुझाएको हो ।

महालेखापरीक्षकको कार्यालयले मकवानपुरको सबैभन्दा बढी ११ दशमलव ६६ प्रतिशत बेरुजुको अवस्था रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बेरुजु अन्त्यका लागि संस्थाले ध्यानाकर्षणपत्र बुझाएको डीईसी नेपाल संयोजक मानबहादुर वाइबाले बताउनुभयो ।

पालिका अध्यक्ष घलानले आर्थिक अनुशासन कायम गर्न पालिका लागिरहेको भन्दै कर्मचारीको कार्यदक्षताको कमीको कारण बेरुजु बढेको बताउनुभयो । ‘संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय उत्तरदायित्व, पारदर्शिता र आर्थिक अनुशासनको पालना हुनुपर्दछ,’ उहाँले भन्नुभयो–‘बेरुजु अन्त्यका लागि आवाज उठाउँदै आएको हुँ, हामी आफैँ चकित छौं ।’

जिल्लाका १० वटै पालिकामा बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणका काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । कानुनविपरीत काम हुँदा र लेखापरीक्षणका क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ । हरेक वर्ष मकवानपुरका स्थानीय तहहरुमा बेरुजु बढ्दै जाँदा नागरिक समाजले चासो लिएको हो ।

प्रतिक्रिया दिनुहोस्