रजश्वलासँग जोडिएको नारीहरूको चाड ऋषिपञ्चमी



  • वसन्तप्रसाद दाहाल

समाज शास्त्रीय दृष्टिकोणमा मानिसले गर्ने विश्वासको आधारमा विकास भएको प्रचलन नै धर्म हो । अर्को अर्थमा आफ्ना पुर्खाहरूले परापूर्वकालदेखि गर्दै आएका संस्कारहरूलाई आफ्नो कर्तव्य मान्ने र त्यही कर्तव्य पूरा गर्न अपनाइने विधि–विधानहरूलाई धर्म भन्न सकिन्छ । विश्वमा धेरै किसिमका धर्महरू प्रचलनमा रहेका छन् । विभिन्न धर्मका अनुयायीहरू धर्मले सिकाएको मार्गमा लागेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् । धर्म फरक भए पनि धर्मको लक्ष्य र उद्देश्य भने एउटै रहेको हुन्छ । धर्मका चार पाउ दया, सत्य, शान्ति र अहिंसा सबै धर्मका अनुयायीहरूले अनुसरण गरिरहेका छन् । धर्महरूमा हिन्दू धर्म पुरानो धर्म हो । विश्वमा फैलिएका विभिन्न धर्महरूमध्ये हिन्दू धर्मका अनुयायीहरू एसियाली मुलुकहरूमध्ये पनि नेपाल र भारतमा बढी मात्रामा रहेका छन् ।

हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । हिन्दू धर्मावलम्बीहरूले हरेक पर्व पञ्चाङ्गका आधारमा मनाउने गर्दछन् । ज्योतिषशास्त्रमा पञ्चाङ्ग भन्नाले तिथि, बार, नक्षत्र, योग र करण पर्दछन् । पञ्चाङ्गअनुसार भाद्र शुक्ल पञ्चमी तिथिका दिन मनाइने यो पर्वको छुट्टै ऐतिहासिक र धार्मिक महत्व रहेको छ ।

यो ऋषिपञ्चमी व्रतको शुरुवात कसरी र कहिलेदेखि भयो भन्ने विषयमा इतिहास केलाउँदा यो व्रतको सम्बन्धमा भविष्य पुराणमा उल्लेख छ । यो व्रतको शुभारम्भ सत्ययुगदेखि नै भएको देखिन्छ । सत्ययुगमा नैमिषारण्य क्षेत्रमा (हाल यो क्षेत्र भारतमा पर्दछ) शौनकसहितका ऋषिहरूले यज्ञ गरिरहेको स्थानमा व्यास ऋषिका शिष्य सुतजी नामका अर्का प्रख्यात ऋषि आइपुगे । सुतजीलाई अनुनय विनय गरी उच्च आसनमा बसाएर शौनकसहितका ऋषिहरूले केही पाप पखाल्ने कथा सुन्न इच्छा व्यक्त गरे । त्यसपछि सूतजीले व्यास ऋषिबाट सुनेको कथालाई शौनकसहितका ऋषिहरूलाई सुनाउनुभएको थियो ।

सो कथा द्वापर युगमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएपछि कथाले कलियुगमा पनि निरन्तरता पाएको छ । आख्यानअनुसार इन्द्रले वृत्रासुरको वध गरेपछि इन्द्रलाई ब्रह्महत्याको पाप लाग्यो । इन्द्रलाई ब्रह्माले ब्रह्महत्याबाट मुक्ति दिलाउनको लागि ब्रह्महत्यालाई चार भाग लगाएर पहिलो भाग आगोको ज्वालामा, दोस्रो भाग नदीहरूको पहिलो बाढीको पानीमा, तेस्रो भाग पर्वतमा र चौथो भाग नारीको मासिक रक्तमा फ्याँकिदिएका कारणबाट रजश्वला भएका नारीलाई अशुद्ध मानिदै आएको छ ।

सत्ययुगमा विदर्भ देशमा श्येनजित नामका राजाले शासन गरेको, उक्त देशको एक गाउँमा वेद र पुराणमा पारंगत सुमित्र ब्राह्मण र उनकी श्रीमती जयश्री नामकी ब्राह्मणीलाई ऋषिपञ्चमी कथाको विशेष नायक र खलनायक पात्रका रुपमा चित्रण गरिएको छ । जयश्री नामकी ब्राह्मणीले खेतीपातीमा व्यस्तता हुँदा रजश्वला भएको समयमा छुवाछूत गरेका कारण अर्को जन्ममा कुकुर्नी भएर जन्मिएकी, ब्राह्मणचाहिँ अर्को जन्ममा गोरु भएर जन्मिएका, आफ्नै घरमा दुवैजना गोरु र कुकुर्नीको रुपमा बस्न पुगेका र छोरा–बुहारीले बसेको ऋषिपञ्चमीको व्रतका प्रभावले उनीहरुले मुक्ति प्राप्त गरेको प्रसंगका आधारमा यस व्रतको प्रारम्भ भएको देखिन्छ । कथाको आधारमा छुवाछूतको दोष मेटाउन स्त्री–पुरुष दुवैले व्रत बस्नुपर्ने भए तापनि विशेष रुपले महिलाहरूले मात्रै व्रत बस्ने प्रचलन चलिआएको छ ।

हरितालिका तीजको भोलिपल्ट गणेश चतुर्थी पर्व पर्दछ । गणेश चतुर्थी पर्वका दिन गणेशको विशेष पूजा–अर्चना गरिन्छ । गणेश चतुर्थी पर्वको छुट्टै महत्व र पहिचान रहेको छ । यसको लगत्तै ऋषिपञ्चमी पर्वको आगमन हुन्छ । पञ्चमीको दिन बिहान विवाहित तथा अविवाहित सबै नारीहरुले आफ्नो नित्य शौचक्रियापश्चात् ३६० टुक्रा आँख्ला भएका दतिवन नामका वनस्पतिको प्रार्थना गरी उक्त डाँठको ब्रस बनाएर दाँत माझ्ने गर्दछन् । दाँत माझ्ने क्रममा ‘मुख दुर्गन्ध नाशाय दन्तानां च विशुद्धये, ष्ठीवनाशाय च गात्राणां कुर्वेहं दन्तधावनम्’ भन्ने मन्त्र वाचन गर्ने प्रचलन छ । अर्थात् मुखको दुर्गन्ध हटाएर दाँतको शुद्धीकरण भई बलियो होस् भन्ने नै अर्थ हुन्छ । संस्कृत नै किन वाचन गर्नुपर्छ भन्ने शंका निवारणका लागि संस्कृतलाई देवभाषा मानिएको छ ।

तत्पश्चात् अमलाको रुखको फेदको माटो, तुलसीको फेदको माटो, पारिजातको फेदको माटो, गाईको गोबर, हलोको माटो, दतिवनको पात र कुशसहित नुहाउने गर्दछन् । त्यसपछि अरुन्धतीसहित सप्तऋषिहरुको सम्भव भएसम्म षोडसोपचारले र सम्भव नभएमा पञ्चोपचारले पूजा गर्ने प्रचलन छ । सप्तऋषिहरुमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ नामका सप्तऋषिहरु पर्दछन् । ती ऋषिहरूको पूजा–अर्चना गर्नाले रजश्वला भएको अवस्थामा ज्ञात वा अज्ञात कारणले हुन गएको छुवाछूतको दोष मेटिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । पञ्चमीका दिन सप्तऋषिहरुको मन्दिरमा गएर वा घरमै पनि कुशको प्रतिमूर्ति बनाई पुरोहित राखेर पूजा गर्ने प्रचलन छ । नेपालको पनि सप्तऋषिका मन्दिरहरुमा त्यस दिन भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

हुन त आजको समयमा रजश्वला भनेको प्राकृतिक प्रक्रिया हो र यसलाई छुवाछूतसँग तुलना गर्नु पाखण्डपन हो भन्ने आवाज पनि चलिरहेको छ । महिला अधिकारकर्मीहरूले यसलाई महिलाविरुद्धको विभेदको रुपमा पनि विश्लेषण गर्ने गरेका छन् । अन्य धर्मावलम्बी महिलाहरूलाई रजश्वलाका समयमा छुवाछूतमा निषेध गरिएको छैन, तथापि हिन्दू धर्मको दर्शन वैज्ञानिक छ भन्नुमा कुनै विवाद छैन । किनभने रजश्वला भएको समयमा महिलाहरूलाई चार दिन आराम होस् भनेर पनि पूर्वीय दर्शनमा छुवाछूतको व्यवस्था गरिएको हुनसक्छ । अहिले पनि हाम्रो देशको अधिकांश ग्रामीण समाज अशिक्षा र पुरातन सोचले ग्रसित छ । अशिक्षित ग्रामीण समाजमा बुहारी चेलीलाई घरको काम गर्ने जीवित मेसिनको रुपमा चित्रित गर्ने परिपाटी कायमै छ । हाम्रो समाजमा महिनावारीको समयमा चार दिन आराम नदिने हो भने महिलाहरूलाई पीडामाथि झन् पीडा थपिने कुरामा विमत्ति हुन सक्तैन । युरोपेली मुलुक स्वीडेनमा समेत महिला कर्मचारीहरूलाई महिनाको चार दिन सार्वजनिक बिदा दिनुपर्ने माग उठिरहेको छ । हुन त नेपालमा पनि महिलाहरूलाई मासिक चार दिन बिदा दिनुपर्ने आवाज बुलन्द भइरहेको छ ।

ऋषिपञ्चमीको दिन ऋषिको पूजा–आराधना गरिसकेपछि कर्कलोको तरकारी चोखो पारेर अर्थात् गाईको घिउ वा सूर्यमुखी फूलको तेलमा पकाएर खाने प्रचलन रहिआएको छ । दतिवन लगाएपछि रजश्वलाको चार दिन बराबर मानिने भएकोले महिलाहरूले विशेष छुवाछूत गर्ने प्रचलन छैन । ऋषिपञ्चमीका दिन पूजाआजा गरिसकेपछि जन्मघर छोडेर कर्मघरमा रहँदा–बस्दा भोग्नुपरेका तीता–मीठा वेदनालाई लयात्मक ढंगले गीतको माध्यमबाट अभिव्यक्त गर्ने र नाचगान गर्ने गरिन्छ । त्यसैले यो पर्वले अप्रत्यक्षरुपमा महिलाहरूको सशक्तीकरण र सबलीकरणमा जोड दिएको मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्