लकिङ कोड प्रयोग गर्न टेलिकमको आग्रह



काठमाडौैं, (नेस)  ।

नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था देखिएको कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि आएको टेलिकमको भनाइ छ ।

यस्ता घटनाबाट जोगिन ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एप इन्स्टल नगर्न वा हटाउनु हुन टेलिकमले अनुरोध गरेकोछ । कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएता पनि कम्पनीका ग्राहकको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको टेलिकमले जनाएको छ । साथै अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्