अरूलाई हँसाउने पाँडे बुढाको आफ्नै रोदन



‘तै तपाईंहरूको सक्किगोनि पनि भित्रभित्रै त फुटेको त हैन ? अर्जुन घिमिरे पाँडे नभएको सक्किगोनि पनि सक्किगोनिझैं भएको छ। हामीलाई पाँडे जसरी नि चाहियो।’

‘पाँडे खोई चाइयो, नुनबिनाको तरकारीजस्तै भयो सक्किगोनि।’

लोकप्रिय हास्यटेलिश्रृंखला सक्किगोनिका कलाकारहरूले सामाजिक सञ्जालमा केही पोस्ट अपलोड गर्नै हुन्न। यस्तै, प्रतिक्रियाको ओइरो लाग्छ। कतिपय दर्शकले पाँडे बुढा अर्थात् अर्जुन घिमिरेलाई सक्किगोनि नदेखिए सिरियल हेर्न छोडिदिने घुर्की लगाउँछन् भने कतिपयले उनीबिना सिरियल नै खल्लो भएको प्रतिक्रिया दिने गर्छन्। अर्जुन लामो समयदेखि सक्किगोनि नदेखिनुको कारण भने पिडादायी छ। झन्डै तीन महिनादेखि आमा अस्वस्थ भएर अस्पताल भर्ना भएका कारण उनी पीडामा छन्।

आमालाई मस्तिष्कघात भएर अस्पताल भर्ना गरिएदेखि सक्किगोनिका मुख्य कलाकारमध्येका एक अर्जुन घिमिरे त्यसमा देखिएका छैनन्। सधैं उनको पर्खाइमा टेलिभिजन अगाडि रहने दर्शक भने महिनौंसम्म उनीलाई नदेख्दा निराश भइरहेका छन्। दर्शकलाई सधैं हँसाइरहने उनै अर्जुनका अगाडि भने यतिबेला आमा बिरामी भएका कारण दुःखको पहाड उभिएको छ।

आमालाई मस्तिष्कघात भएर अस्पताल भर्ना गरिएको कारण पाँडे बुढा सिरियलबाट टाढा रहेर आमाप्रतिको कर्तव्य निर्वाह गरिरहेका छन्। अर्जुन हिजोआज ग्रिन सिटी अस्पतालमा अचेत अवस्थामा उपचाररत आमाको स्याहार—सुुसार र त्योभन्दा बढी चिन्तामा छन्। ‘मम्मीलाई ब्रेन ह्याम्ब्रेज भएको लामो समय भइसकेको छ, तर पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आउने आशामा अस्पताल परिसरको चक्कर काटिरहेको छु। सुधार भने आउन सकेको छैन’ अर्जुन दुःख पोख्छन्— ‘उहाँको स्थिति क्रिटिकल नै रहेकोले ममीको यस्तो अवस्थामा मलाई सिरियलको सुटिङमा जाने मुड नै भएन। आमालाई गाह्रो परिरहेका बेला दर्शक हँसाएर हास्य सिरियलमा खेल्ने हिम्मत ममा भएन। त्यसकारण अहिले सिरियल छोडेर मम्मीकै हेरचार गरिरहेको छु।’

सक्किगोनिमा आफूलाई हेर्न प्रतीक्षारत दर्शकलाई अर्जुन आफ्नो अवस्था सहज भएपछि मात्र सिरियलमा फर्कनने बताउँछन्। ‘अहिले म हस्पिटलमै बसिरहेको छु। मलाई दाइहरूले पनि सहयोग गरिरहनुभएको छ। अब मम्मीको स्वास्थ सामान्य अवस्थामा आएपछि र स्थिति सहज भएपछि फेरि सक्किगोनिमार्फत दर्शकमाझ आउनेछु’ उनी भन्छन्।

अर्जुन सुनाउँछन् ‘डाक्टरहरू ममीको स्वास्थ्यको खटिइरहनुभएको छ। हामी उहाँको स्वास्थ्यलाभको कामना गरिरहेका छौँ। आशा छ, ममीको स्वास्थ्यमा सुधार आउनेछ। उहाँलाई होस आइहाल्छ कि भन्ने झिनो आशाका साथ हामीले उहाँ अचेत भए पनि अस्पतालमै केक काटेर उहाँको बर्थडे पनि मनायौँ। उहाँको इच्छा पनि थियो जन्मदिनको दिन केक काट्ने। तर, अस्पतालको बेडमै केक काटेको पनि उहाँले सायदै थाहा पाउनुभयो।’

उनले थपे— ‘ममी स्वास्थ्य लाभ प्राप्त गर्न तीन महिनादेखि ग्रिन सिटी अस्पतालमा संघर्षरत हुनुहुन्छ। भगवान् छन्, छैनन्, त्यो त थाहा भएन। यदि, छन् भने हाम्रो पुकार सुनेर आमालाई पूर्ववत् अवस्थामा फर्काइदिनोस्। हामी यही एउटा जीवित आशा बोकेर उहाँलाई कुरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्