नयाँ दल दर्ताका लागि प्रक्रिया शुरू



काठमाडौं, (नेस) ।

निर्वाचन आयोगले नयाँ दल दर्तासम्बन्धी निवेदनमा उल्लेखित सांसदहरूको बारे बुझन् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।

आयोगमा नयाँ दल दर्ताको लागि माधवकुमार नेपाल र महन्थ ठाकुरले निवेदन दिने क्रममा उल्लेख गरिएका सांसदहरू सम्बन्धित दलका हुन् कि होइनन् भनेर छिनोफानो गर्न आयोगले पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी सभामुखको जवाफ पर्खिरहेका छौं ।’

राजनीतिक दल विभाजन गर्न खुकुलो हुने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले) का वरिष्ठ नेता नेपाल र जसपाबाट अलग्गिएका ठाकुरले नयाँ दल दर्ताको लागि आयोगमा निवेदन दिनुभएको थियो । नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) पार्टी र महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवदेन दिनुभएको थियो ।

नेता राजेन्द्र पाण्डेले आयोगका अनुसार माधव नेपाललाई संघीय सांसदहरूको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ । नेकपा एकीकृत (समाजवादी) पार्टीले आयोगमा ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुवै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको जानकारी दिनुभयो ।

जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् भने नयाँ पार्टीमा २३ सदस्यहरू रहने बताइएको छ । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् ।

आयोगले नयाँ दल दर्ताको लागि दिएको निवेदन ऐनले तोकेबमोजिम कागजात र विवरण संलग्न छ कि छैन भनेर हेरेर दर्ताको लागि प्रक्रिया अघि बढाउने बताएको छ । जाँचबुझबाट प्रस्तावित दल संविधान र ऐनबमोजिम दर्ता हुनसक्ने देखिएमा आयोगले उपदफा (१) बमोजिम निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्