बनेपाको आँखा अस्पतामा थपिए उपकरण



मोतीराम तिमल्सिना , काभ्रे ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । कोरोना भाईरस तथा अन्य विपत्तिहरुमा समेत अस्पतालले नागरिकहरुलाई नियमित सेवा उपलब्ध गराएको छ । जिल्ला समन्वय समिती काभ्रे र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिती काभ्रेका प्रमुख उद्धब केसीले अस्पतालले दिईरहेको सेवामा थप सहयोग र थप सेवा विस्तारका लागि जनताले सुविधा पाउन भन्ने उदेश्यले उपकरण प्रदान गरिएको बताउनु भयो । आँखा अस्पताललाई थप नमुना र प्रविधियुक्त बनाउन आँखा जाँच्ने र चश्मा बनाउने मेशिन उपलब्ध गराईएको थियो । थप उपकरणले जिल्ला तथा आसपासका जनताहरुलाई अस्पतालले पु¥याएको सुविधा अझै प्रभावकारी रुपमा सहज हुने विश्वास लिएको समन्वय प्रमुख केसीले वताउनु भयो । बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले नगरले उक्त अस्पतालसँग जनप्रतिनिधि निर्वाचित भए लगत्तै देखि सहयोग र समन्वय गर्न शुरु गरिएको बताउनु भयो ।

नगरपालिका र आँखा अस्पालतको सहकार्यमा नगरलाई मोतिविन्दु मुक्त नगर बनाउने उदेश्यले सबै वडामा जाँच गरी मोतिविन्दु भएका विरामीहरुको निशुल्क उपाचार शुरु गरिएको नगर प्रमुख बादेले बताउनु भयो । उक्त सम्झौता पछि बनेपा नगरपालिकाका १ हजार भन्दा धेरै नागरिकहरुले मोतिविन्दुको निशुल्क सेवा लिएका छन् ।नगरबासीहरुलाई निशुल्क मोतिबिन्दुको उपचार, महिलाहरुलाई पाठेघरमा हुने क्यान्सरको निशुल्क उपचार लगाएतका कार्यहरुमा नगरपालिकाले सम्झौता गरेको नगर प्रमुख बादेले बताउनु भयो ।

नगरपालिका भित्र रहेका अपाङ्ग बाल अस्पताल, स्पाईनल ईन्जुरी, शिरमेमोरीयल अस्पताल, भोमि अस्पताललाई सहयोग गरी नगरबासीहरुको स्वास्थ्य उपचारका लागी थप सेवा प्रदान गरिएको उहाँले बताउनु भयो । उपकरण हस्तान्तरण कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, नेपाल पत्रकार महासघं अध्यक्ष बद्रीराज तिमल्सिना, अस्पतालका सल्लाहकार अशोक श्रेष्ठ, कोषाध्यक्ष दिनेशराज कायस्थ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अस्पतालका प्रमुख हिरामणी शर्माले अस्पताल कोरोनाको महामारीमा समेत सेवा दिएको बताउनु भयो । अस्पताललाई स्थानीय तहरुको र विभिन्न सघं संस्थाको सहयोग प्राप्त भएको र विरामीहरुलाई समेत थप सेवा सुविधा दिँदै गएको बताउनु भयो । अस्पतालले विगतका दिनहरुमा समेत विभिन्न ठाउँमा गई निशुल्क शिबिरहरु गरि मोतिविन्दु भएका विरामिहरुको पहिचान गरी उपचार गर्दै आएको शर्माले भयो ।

 

अस्पताललाई जिल्ला समन्वय समिति र बनेपा नगरपालिकाले संयुक्त १२ लाख ५० हजार रुपया बराबरको उपकरण प्राप्त भएको बताउनु भयो । कार्यक्रममा सभापति तथा अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्यले संस्था एक्लै चलाउन नसकिने भएकाले विभिन्न ब्यक्ति संस्था, स्थानीय सरकारको सहयोगले नै अस्पतालले निरन्तर सेवा दिन सकेको बताउनु भयो । अस्पतालले जिल्लाको अलावा आसपासका जिल्लाका नागरिकहरुलाई समेत सेवा दिएको अध्यक्ष आचार्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्