पशुपतिमा राखिएको सुनको जलहरी च्यातियो, अख्तियारद्वारा छानविन शुरू



रविप्रसाद खनाल, काठमाडौं ।

हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको सुनको जलहरी केही समयमा नै च्यातिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिनाथको मुख्य मन्दिरमा रहेको भगवान् शिवको मूर्ति रहेको मन्दिरमा हालिएको जलहरी ४ महिनामा नै च्यातिएपछि पशुपति विकास कोषले पुनः मर्मत गर्न खोजेपछि अख्तियारले पत्र काटेको छ । सो पत्रपछि मर्मत प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको ३० करोड र कोषले उपलब्ध गराएको ५० करोड रुपियाँमा १ सय ८ किलो सुन खरिद गरेर पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको थियो । जलहरी बनाउँदा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पशुपति विकास कोषको नाममा पत्र काटेर उक्त विवरण माग गरेको र ४ महिनाअघि राखिएको जलहरी अहिले कसरी च्यातियो भन्ने प्रश्न गरेपछि कोष अफ्ठेरोमा परेको छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले अख्तियारबाट पत्र आएको र उक्त पत्रको जवाफ पठाउने तयारी गरेको जानकारी दिनुभयो । उहाँले पहिला जलहरी राख्दा किला ठोक्न बाँकी भएको तथा सो कार्य बिहीबारबाट शुरु गर्ने भनिएकामा प्राविधिकहरु समयमा नआएकाले काम नभएको दाबी गर्नुभयो । कोषका एक पदाधिकारीका अनुसार अख्तियारले कुनै पनि काम अगाडि नबढाउन र सुन खरिद प्रक्रियाका बारेमा जानकारी गराउन आग्रह गरेपछि काम रोकिएको छ ।

पशुपति मन्दिरमा यसअघि राखिएको चाँदीको जलहरीमा कुनै समस्या नआएको तर ४ महिनाअघि सुन खरिद गरेर बनाइएको जलहरी च्यातिएपछि कोषका पदाधिकारीको मिलेमतोमा सुन हिनामिना गरेको भन्दै कोषमा कार्यरत कर्मचारीले नै अख्तियारमा उजुरी गरेपछि आयोगले सुन खरिद प्रक्रियाका बारेमा अध्ययन शुरु गरेको हो । कोषका सदस्य सचिव ढकालले सुन खरिद प्रक्रिया पारदर्शी रहेको दाबी गर्दै प्रधानमन्त्री कार्यालय र कोषबाट उपलब्ध गएको ८० करोड रुपियाँ नेपाल राष्ट्र बैंकमा जम्मा गरेर बैंकले जी टु जी प्रक्रियाबाट सुन खरिद गरेकाले अनियमिता हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले सुनको जलहरी च्यातिएको नभई किला ठोक्न मात्र बाँकी रहेको जिकिर गर्नुभयो ।

अख्तियारले पत्र काटेपछि कोषका पदाधिकारीहरु अहिले छटपटिन थालेका छन । जलहरी बनाउने बेलामा कोषका पदाधिकारीको मिलेमतोमा सुन कम प्रयोग गरेको आरोप त्यहाँ कार्यरत कर्मचारीले लगाएका छन् । भगवान्को मन्दिरमा चढाइएको सुनमा समेत अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले कोषका पदाधिकारीहरुसँग जानकारी माग गरिरहेका बेला अख्तियारले पत्र काटेको छ ।

कोषका सदस्य सचिव ढकालले अहिले कोषका पदाधिकारीलाई बदनाम गराउने एउटा गिरोह सक्रिय भएको दाबी गर्नुभयो । कोषले केही दिनभित्र नै पत्रकार सम्मेलन गरेर कोषको पछिल्लो स्थितिको बारेमा जानकारी गराउने भएको छ । सदस्य सचिव ढकालले अख्तियारले मागेको विवरण दिएपछि केही दिनमा नै पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने बताउनुभयो । पशुपति विकास कोषको नाममा रहेको जग्गाबाट बालुवा र माटो बिक्री गर्ने प्रक्रियामा समेत कोषका पदाधिकारीको संलग्नता रहेको आरोप लागेको छ । कोषले बिक्री गर्न लागेको बालुवा र माटो २ अर्ब रुपियाँमा ठेक्का दिने तयारी गरेको आरोप लागेको छ । अभियान्ताहरुले उक्त जग्गाको बालुवा र माटो बिक्री गर्दा ६ अर्बभन्दा बढी आउने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्