मैले कोसँग प्रतिस्पर्धा गर्ने ! : धिरेन शाक्य



नेपाली रजतपटमा फरक स्थान बनाउन सफल नाम हो धिरेन शाक्य। कला क्षेत्रमा आउँछु भन्ने कहिल्यै नसोचेका धिरेन पछि गएर यही क्षेत्रमा राज गर्न सफल भए। स्कुल पढ्दै गर्दा साथीहरूको लह-लहैमा ब्रिटिस आर्मीमा भर्ती हुने सोच बनाएका उनको पहिलो चरणमा छानिन सफल भए पनि अन्तिम परीक्षामा भने रुचि नदेखाएका कारण ब्रिटिस आर्मीको यात्रा त्यहीं रोकिएको थियो। स्कुले जीवन सकिनासाथ गृह जिल्ला पाल्पामै रहँदा आफ्ना साथीहरूले निर्माण गरेको प्रतीक नामक भिडियो फिल्म खेलेपछि फिचर फिल्मका लागि धिरेनलाई अफर आएको थियो।

फिल्म खेल्न काठमाडाै प्रवेश गरेका धिरेनले पहिलो फिल्म नै २०५० सालमा त्यो बेलाका हिट निर्देशक स्व. चेतन कार्कीको निर्देशनमा खेलेका थिए। हिट निर्देशक र चल्तीका कलाकारका साथ फिल्म पहिलो प्रेममा ब्रेक पाएका धिरेनले त्यसपछिका दिनमा पछाडि फर्किनुपरेन, जसका कारण तीन दशकदेखि कहिले फिल्म त कहिले म्युजिक भिडियोमा प्रस्तुत हुँदै आएका छन् उनी। पहिलो प्रेमलगत्तै धिरेनले कर्जाको लागि अफर पाए भने त्यसपछि लगातार सौभाग्य, जुनतारा, सिमाना, जन्म जन्म, छहारी, दुश्मन, दाग, भीष्मप्रतिज्ञा, क्रोध, शहर, अप्सरा, अंशबण्डा, देउराली, खेलौना, भगवान्, देश परदेश, भाग्यले जुरायो, काइदा, जीवनदान, दादागिरी, मैले भुल्नै सकिन, अचानक, दुई मुुटु एक धडकन, आधि बाटो, लक्ष्मी रानीलगायत दर्जर्नां फिल्ममा अभिनय गरी दर्शकको मन जित्दै आएका छन्। कम फिल्म बन्ने त्यो समयमा पनि धिरेनको व्यस्तता दिनरात नै हुने गर्दथ्यो। सयभन्दा बढी फिल्ममा अभिनय गरेका धिरेनले विभिन्न विधाका ७०-८० को हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेका छन्। विभिन्न विज्ञापनमा समेत छाउँदै आएका धिरेनले फिल्म र म्युजिक भिडियोका अलावा ज्यास्मिन फिल्म्स्मार्फत फिल्मसम्बन्धी उपकरण व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्। धिरेनसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

  • रश्मी थापा

हिजो-आज के गर्दै हुनुहुन्छ ?

हाल कोभिडको कारण हामी सबैले सजगता अपनाउनुपर्ने र काम रोकिएकोले घरमै छु। लकडाउन हुनु अघिल्लो दिनसम्म आउन बाँकि प्रोजेक्टको काममा थिएँ। लकडाउन पूर्णरूपमा खुलेपछि ती कामहरू कन्टिन्यु हुनेछन्।

सम्हालिन्छ कहिले मन, सनाखत, मञ्जिलजस्ता फिल्म आउन बाँकि छन्। जसमध्ये कुनैको काम सकियो, कुनैको डबिङ गर्न बाँकि छ। लकडाउन खुलेपछि यी फिल्मको काम हुनेछ। साथै, लभ यु जिन्दगी नामक सिरियलमा पनि काम गरेको छु। अब फिल्म, म्युजिक भिडियो र सिरियललाई सँगै लैजानेछु।

फिल्म मिस गरिरहनुभएको छ?

मिस गरि नै रहेको छ। तर, सबैभन्दा महवपूर्ण कुरा यो समयमा सजगता अपनाउनु हो। हाम्रो देशमा मात्र नभई संसारभरि कोभिडले नराम्रो असर पारिरहेको छ। मिस गरे पनि काम गर्ने वातावरण छैन। काम गर्न पाए पनि बाहिरी वातावरणले गर्दा काम गर्ने मुड छैन। यो माहोल हराउँदै गयो भने र कहर हरायो भने काम गर्न एक्साइटेड छु।

हिजो (करियर) को दिनलाई कसरी सम्झनुहुन्छ?

त्यो बेला छुट्टै माहोल थियो। कलाकार कम थिए, फिल्म पनि कमै बन्थ्यो। तर, दर्शकचाहिँ बढी हुन्थे। थोरै फिल्म बन्थे, तर समय धेरै लाग्थ्यो, क्वालिटीको फिल्म बन्थ्यो।

निरन्तर मेहनत र उत्साहका साथ काम गरिन्थ्यो। सम्झँदा रमाइलो लाग्छ।

पहिले र अहिलेको फिल्म क्षेत्रमा के परिवर्तन पाउनुहुन्छ?

धेरै नै परिवर्तन भएका छन्। अहिले विभिन्न कलेजमा एक्टिङ, डान्स, फाइट सबै सिक्न पाइन्छ। तर, म २०४९-५० तिर फिल्म क्षेत्रमा प्रवेश गर्दा ताका अभिनय, नृत्य, फाइटजस्ता फिल्ममा आवश्यक कुरा सिक्नका लागि कुनै ट्रेनिङ सेन्टर तथा कलेज थिएन।

त्यो बेला म पर्सनल रिक्वेस्टमा करिबब१० महिनासम्म डान्स, बडि बिल्डिङ, एक्टिङको ट्रेनिङ लिएर फिल्म क्षेत्रमा आएको थिएँ। प्रविधिकै कुरा गर्दा पहिला नेगेटिभ सिस्टमको क्यामेराबाट खिचिन्थ्यो भने अहिले डिजिटल प्रविधि छ।

अहिले जति टेक गर्दा पनि फरक पर्दैन, पहिले नेगेटिभ सिस्टममा महँगो पर्ने भएकाले २-३ टेकमै जसरी पनि ओके गर्नुपथ्र्यो। कथा वस्तुदेखि लिएर डाइरेक्सनको डिपार्टमा पनि धेरै चेन्ज आएको छ।

म्युजिक भिडियो गरिरहनुभएको छ है ?

लकडाउन अघिसम्म म्युजिक भिडियो आइरहेका थिए। अहिले अफर पेन्डिङमा छन्। पहिले पनि वर्षमा ८-१० ओटा मात्र म्युजिक भिडियो खेल्थें, खुलेपछि पनि त्यहि नै हुनेछ।लकडाउन अगाडि फिल्मभन्दा बढी म्युजिक भिडियोमा देखिनुहुन्थ्यो नि ?

पहिलो लकडाउनअघि धेरै फिल्म रिलिज भए। त्यसपछि काम भइरहेको थियो। तर, त्यतिकैमा दोस्रो लकडाउन भयो। बीचको समयमा हल बन्द भएकाले त्यति फिल्म रिलिज भएनन्।

म्युजिक भिडियो भने आए। तर मैले गर्ने भनेको वर्षमा ४-५ ओटा फिल्म र ८-१० म्युजिक भिडियो हो। प्यामली र अफिसलाई पनि समय दिनुपर्ने भएकाले त्योभन्दा बढी काम गर्न भ्याउँदिन।

हिजोआज फिल्मको अफर कत्तिको आउँछ ?

अफरहरू आइरहेका छन्। लकडाउन खुलेपछि फिल्मको सुटिङ शुरु हुन्छ। समयले नभ्याउने हुँदा अफर आएका सबै फिल्ममा काम गर्न सकिँदैन।

अब कस्तो रोल गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?

प्रायः सबै भूमिकाको अनुभव छ। पहिला पहिला उमेर पनि कम थियो। उमेर सुहाउँदो कलेज स्टुडेन्टलगायत विभिन्न भूमिकामा खेलियो। अहिले एज प्mयाक्टरको कारण त्यस्तो खालको भूमिकामा म्याच गर्छ जस्तो लाग्दैन।

पछिल्लो समय पासपोर्ट, सरौतो, यात्रा आदिमा पुलिस इन्स्पेक्टर, डीआईजी आदिको भूमिका गरेको छु। पुलिसको भनेको हाहु डाङडुङ टाइपको रोल हो। अबचाहिँ भावुक किसिमको भूमिका गर्न एकदमै मन छ। जुन पात्र दर्शकको मनभित्र गहिराइमा पुग्न सकोस्। त्यतो रोल मलाई सुट गर्छ पनि।

बीचमा नेगेटिभ रोलमा पनि खेल्नुभयो नि ?

आजभन्दा २८-३० वर्षअघि शुरू भएको मेरो करिअरमा मैले लगातार धेरै फिल्ममा याज एन एक्टरको भूमिकामा खेलेँ। खेल्दै जाँदा केही साथीको सल्लाह र मेरो आफ्नो सोचका कारण दादागिरी, दागजस्ता फिल्ममा अलि फरक भूमिका गरेको थिएँ।

नेगेटिभ भनेर भयंकर नेगेटिभ त होइन, पछि गएर सकारात्मक हुने स्लाइटली नेगेटिभ पात्र गरेको थिएँ। हिरोको रूपमा खेलिरहेको मान्छे अलि फरक रूपमा आफूलाई प्रस्तुत गरौँ, अन्य भूमिकामा उतार्दा एक्टिङमा चेन्ज पनि आउँछ, दर्शकले पनि नयाँपन महसुस गर्नुहुन्छ भन्ने हिसाबले त्यस्ता भूमिका रोजेको थिएँ।

नेगेटिभ रोलमा पनि एक्टिङ देखाउने धेरै ठाउँ हुन्छन्। मैले गरेका ती फिल्म दर्शकले रुचाइदिनुभयो। ४-५ ओटा त्यस्ता रोल पछि कम गर्दै गएँ। पछिल्लोपटक यात्रा, पासवर्डजस्ता फिल्ममा पनि त्यो खालको भूमिका गरेको थिएँ ।

एज प्याक्टरको कारणले अब हिरोको रूपमा खेल्न सुहाउला ?

एज भन्दा पनि कथा वस्तुको कुरा आउँछ। कथा वस्तुले कस्तो एजको व्यक्तिलाई हिरो बनाउने भन्ने डिपेन्ड गर्छ। उमेरअनुसार कथावस्तु छैन भने जबर्जस्ती म्याचिङ गरेर लिड रोल खेल्दा पक्कै पनि राम्रो रिभ्यु आउँदैन।

बलिउडमा सलमान खान, शाहरुख खान मभन्दा बढी नै एजको हुनुहुन्छ। तर, उहाँहरू लिड रोलमै देखिनुहुन्छ। किनभने त्यहाँ स्क्रिप्ट नै त्यस्तो किसिमको हुन्छ। नेपालमा त्यो खालको स्क्रिप्टको कमि छ।

अहिलेसम्म तपाईंले काम गर्नुभएका अभिनेत्रीमा कोसँग सहज महसुस गर्नुभयो ?

मलाई कसैसँग पनि असहज महसुस भएन। पहिलो फिल्मदेखि नै चर्चित कलाकारहरूसँग काम गर्ने मौका पाएँ । त्यसपछिका फिल्ममा पनि सबै चलेका अनुहार नै थिए। सबैसँग सहज महसुस भयो।

अहिले पनि कतिपय नयाँ कलाकारसँग काम गर्दै आएको छु। म आफँ सबैसँग घुलमिल भएर माहोल रमाइलो बनाउँछु। ताकि उहाँहरूलाई पनि सहज महसुस होस्। जसले गर्दा काम गर्न सजिलो हुन्छ र राम्रो रिजल्ट पनि आउँछ।

तपाईंले फिल्म निर्माण पनि गर्ने कुरा थियो नि ? कहाँ पुग्यो ?

लकडाउनअघि फिल्म निर्माणबारे सोचेको थिएँ। म फिल्म क्षेत्रको भएकोले अन्य क्षेत्रमा लाग्नका लागि जिरोबाट शुरु गर्नुपर्छ। तर, फिल्म क्षेत्रमा लामो अनुभव भएकोले यही क्षेत्रमा निरन्तरता दिँदा मेरो अनुभवले सजिलो हुने भएकोले फिल्म निर्माण गरौँ कि भन्ने सोचेको थिएँ।

कोभिड नआएको भए त पहिले नै बनिसक्थ्यो। यहीबीच, पहिलो र दोस्रो लकडाउन भयो। तेस्रो लहर पनि आउँदैछ भन्ने छ। त्यही कारण फिल्म निर्माणको सोच अलि पछिलाई हट्यो।

राजेश हमाललाई लिएर फिल्म बनाउन खोज्नुभएको थियो ?

लकडाउनअघि हामीले पुराना मल्टिकास्ट राखेर फिल्म बनाउनेबारे मिटिङ गरेका थियौँ। पहिला राजेश दाइ र मेरो जोडी भएको सिमाना, अंगरक्षकजस्ता फिल्म निकै हिट भएका थिए। त्यो बेलाका हिट फिल्मका कलाकार राजेश हमाल र धिरेन शाक्यलाई फेरि पर्दामा रिपिट गरौं भन्ने कन्सेप्ट बनाएको थिएँ। धेरै पछि दर्शकले राजेश हमाल र धिरेन शाक्यलाई देख्न पाइयो है भन्ने हुन्थ्यो।

तर, यहीबीच कोभिड आएपछि प्रोजेक्टमा डिस्ट्रब भइरहेको छ। राजेश हमाललाई कुनै बेलाआफ्नो प्रतिस्पर्धी सोच्नुहुन्थ्यो, फर्केर हेर्दा त्यो सोच ठीक थियो जस्तो लाग्छ कि सही थियो जस्तो लाग्छ?

बजारमा जे-जस्तो हल्ला थियो, त्यो हाम्रो वास्तविक जीवनमा थिएन। त्यो किन भयो मलाई अचम्म लाग्छ। हाम्रो घर पनि तानसेन पाल्पा एकै ठाउँ हो। करिअरको हिसाबमा पनि राजेश दाइ मभन्दा सिनियर हुनुहुन्छ।

त्यसकारण हामीबीच मनमुटाव थिएन। हामीले धेरै फिल्म सँगै खेल्यौँ। धेरै फिल्म हिट भए। फिल्म सुटिङको क्रममा गफगाफको बेला कहिले के बोलिन्छ कहिले के बोलिन्छ, ख्याल ठट्टामै गरिएका कुरालाई पब्लिसीटी गरिन्छ भने मेरो साइडबाट राम्रो लाग्दैन।

तपाईंको प्रतिस्पर्धीचाहिँ को थियो त?

त्यो बेला फिल्म नै धेरै बन्दैनथ्यो। कलाकार पनि धेरै थिएनन् भने मैले कोसँग प्रतिस्पर्धा गर्ने ररु प्रतिस्पर्धा गर्न समय पनि थिएन, सिचुएसन पनि थिएन।

आफ्नो प्रतिस्पर्धी आफै हुन्थें। आ-आफ्नो काम कसरी राम्रो गर्ने कसरी मेहनत गर्ने भन्नेमै ध्यान हुन्थ्यो।

अभिनय क्षेत्रबाट धेरैजना कलाकार निर्देशक बन्नुभयो, तपाईं निर्देशक बनेर आउने सम्भावना कत्तिको छ?

निर्देशक बनेर आउने सोच बनाएको थिएँ। तर, यो ठूलो जिम्मेवारी हो। फिल्म निर्देशकलाई क्याप्टेन अफ द सिप भनिन्छ। क्याप्टेनको जिम्मेवारी सम्हाल्न गाह्रो पनि छ, मेहनत पनि धेरै चाहिन्छ।

२-३ ओटा राम्रो फिल्म मेकिङ पछि मात्र निर्देशकको रूपमा आउने सोच बनाएको छु। अझै धेरै अनुभव बटुल्नु छ।

फिल्म उपकरणको व्यापार अहिले पनि गर्नुहुन्छ कि ?

मेरो ठूलो छोरी ज्यास्मिनको नामबाट खोलिएको ज्यास्मिन फिल्मस प्रालिमार्फत फिल्म छायाँकनमा चाहिने लाइट क्यामेरालगायत एउटा फिल्म तयार गर्न चाहिने सम्पूर्ण उपकरण रेन्टमा दिने गरेको छु। हामीसँग लेटेस्ट रेड ड्रागन, रेड हेलियमजस्ता क्यामरालगायत अन्य लेटेस्ट उपकरण उपलब्ध छन्।

यो व्यवसाय र अभिनय पेसामध्ये कुनचाहिँ फाइदाजनक छ ?

मैले जानेको र अनुभव भएको कारण फिल्म क्षेत्रसँगसम्बन्धी काम गरेको हुँ। वर्षमा ५-५ फिल्म र ८-१० ओटा म्युजिक भिडियो गरेर बाँकि रहेको फिप्ट पर्सेन्ट समय अफिसलाई दिन्छु। परिवारलाई पनि समय दिनुप-यो।

फाइदा मात्र हेर्ने हो भने त अफिसको कामबाट धेरै नै फाइदा हुन्छ। दुवैलाई बराबर समय दिएको छु र फाइदा पनि दुवैबाट बराबर नै हुन्छ।

फिल्म क्षेत्रमा आउने नयाँ पिढीलाई के भन्न चाहनुहुन्छ?

जुन क्षेत्रमा पनि सिकेर गरेको र नसिकी गरेको काममा फरक हुन्छ। त्यसैले, फिल्म लाइनमा पनि सिकेर आउनुस् भन्न चाहन्छु। अहिले फिल्म क्षेत्रमा आउन चाहनेका लागि सिक्ने ठाउँ र अवसर धेरै छन्।

मैले पर्सनल रूपमा विभिन्न व्यक्तिहरूसँग सिकेर आएँ, तर अहिले विभिन्न कलेजमार्फत अभिनयसम्बन्धी सम्पूर्ण कुरा सिक्न पाइन्छ। नसिकिकन आएर काम गर्दै सिक्नु भनेको उल्टो काम हुन्छ। सिकेर आउँदा धेरै राम्रो गर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्