आज पनि कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै



न्युज अफ नेपाल , काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन् ।

बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ । आजको बैठकले संशोधित महाधिवेशन कार्यतालिकाबारे निचोड दिने बताइएको छ । यसअघि हिजो बसेको बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल भएको थियो। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन शुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए ।यता क्रियाशिल सदस्यता छानविन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई क्रियाशिल सदस्यता उपर उजुरी गर्ने समय तोकिएको छ । क्रियाशिल छानबिन समितिले भने आफ्नो कारण महाधिवेशन नरोकिने दाबी गरेका छन् । १३ औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा यसपटक दोब्बर बनाइएको छ । यो संख्या १४औं महाधिवेशनमा १० लाखभन्दा बढी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्