स्वास्थ्य संकटकाल लगाउन प्रस्ताव पेस



नेपाल समाचारपत्र, काठमाडौं

कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जानकारी दिनुभएको छ ।उहाँले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिनुभएको हो । उहाँले कोरोना संक्रमणको दर सरकारले गरेको अनुमानअनुसार सुधार नभएको, दैनिकरूपमा ८ हजारभन्दा बढी संक्रमित थपिने गरेकै कारण स्वास्थ्य संकटकाल घोषणा गरी सबै शक्ति जनस्वास्थ्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

गतवर्ष भन्दा फरक ढंगले बन्दाबन्दी गरिएको र व्यक्तिहरूको आवत–जावतमा प्रभावकारी नियन्त्रण नभएकोे र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृतरूपमा नियन्त्रणमा आउन नसकेको बताउँदै कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नुको विकल्प नरहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।मन्त्री त्रिपाठीले नेपालमा राजनीतिक हलचलले कोरोना महामारी नियन्त्रण प्रभावित भए तापनि स्वास्थ्य मन्त्रालय विचलित नभएको बताउनुभयो । उहाँले मन्त्रालय खोप उत्पादक देशहरूसँग निरन्तर सम्पर्कमा रहेको र केही खोप प्राप्तिको निकट पुगिसकेको र केही खरिद प्रक्रियामै जान लागिएको जानकारी पनि दिनुभयो ।कोभिसिल्डको दोस्रो मात्रा भारतले नेपाल, बंगलादेश र माल्दिभ्सलाई पहिलो प्राथमिकतामा उपलब्ध गराउने कुरा भए तापनि अदालतको निर्णयको पालना गर्नुपर्ने भएकाले खोप नेपाल आउन ढिला भएको बताउनुभयो । राजनीतिक, कूटनीतिकरूपमा पहल भइरहेको जानकारी दिँदै उहाँले समयमा खोप आइपुग्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो– ‘पहिला कोरोनाको लडाइँ जिताै अनि मात्र राजनीतिको लडाइँ लडौंला ।’मन्त्री त्रिपाठीले भन्नुभयो– ‘आफूले कोरोना नियन्त्रण तथा रोकथामका लागि विज्ञहरूले दिएको सुझावलाई सकारात्मकरूपमा अवलम्बन गर्दै आएको भए पनि संक्रमण अझै भयावह अवस्थामा छ । तर, कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयको टकरावको बीच संकटकालको निर्णय हुन सकेको छैन ।’

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पहिलो डोज कोभिसिल्ड खोप लगाएका व्यक्तिहरूको दोस्रो डोज खोप लगाउन अझै केही हप्ता कुर्नुपर्ने बताउनुभएको छ । कोरोनाको खोप ल्याउनका लागि सरकारले काम गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘पहिलो डोज लगाएका मानिसलाई दोस्रो डोज ४ महिनापछि दिने योजना बनाएका छौं ।’९ लाखको हाराहारीमा ६५ वर्षमाथिका नागरिकलाई फागुनको २३ गतेबाट ‘कोभिसिल्ड’ दिइएको थियो । यसअघि मन्त्रालयले पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय गरेको थियो । नेपाल सरकारले पहिला नै भुक्तानी बुझाइसकेकोमध्ये १० लाख डोज खोप भारत सरकारले समयमा उपलब्ध नगराएका कारण यो अवधि सरेको हो ।

प्रतिक्रिया दिनुहोस्