कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ : मन्त्री आले



विमल विष्ट, डोटी ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताउनु भएको छ । जिल्ला अस्पताल डोटीमा आज आयोजना गरिएको स्वास्थ्य सामग्री बितरण कार्यक्रममा मन्त्री आलेले सो कुरा बताउनु भएको हो । मन्त्री आलेले आफ्नै लगानीमा आज सोमबार जिल्ला अस्पताल डोटीमा स्वास्थ्य सामग्री बितरण गर्नु हुँदै कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले भरपुर प्रयास गरी गरेको बताउनु भएको छ ।

जिल्लाका नौवटै स्थानीय तह तथा जिल्ला अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री बितरण कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने समेत बताउनु भएको छ । कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भईरहेका बेला मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनु भएको हो । गृह जिल्ला डोटी र सुदूरपश्चिम प्रदेशिक अस्पताल कैलालीलाई आवश्यक स्वास्थ्य सामाग्री बितरणका लागि डोटी पुग्नु भएका मन्त्री आलेले थप आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि केन्द्रबाट सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडि बढिसकेकाले अब जिल्लामा खासै अक्सिजनको अभाव नहुँने समेत उहाँले बताउनुभयो । महामारीको रोकथामका लागि सबैले हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै हरेक नागरिकलाई समेत सचेत बन्न मन्त्री आलेले आग्रह गर्नुभएको छ । जिल्लामा स्वास्थ्य सामग्री अभाबमा जिल्लामा सकृय कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको भन्ने गुनासो आएपछि मन्त्री आलेले स्वास्थ्य सेवा बिभागबाट प्राप्त ३० वटा एचडियु शयया, खाली १५ अक्सिजन सिलिन्डर तथा आफ्नो लगानीमा ६० वटा थप सिलिन्डर खरिद गरी ७५ थान भरिएका अक्सिजन सिलिन्डर, सर्जिकल मास्क एकलाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर मेसिन, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री लगी आज बितरण गर्नु भएको हो ।

केही नियमित सरकारी प्रकृयाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिन्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजर मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “शयया सरकारी अनुदानमा आएको छ, अन्य सम्पूर्ण स्वास्थ्य सामग्री मन्त्रीज्यूले किनेर पठाउनु भएको हो ।” मन्त्रीआलेले पठाउनु भएका स्वास्थ्य सामग्री जिल्लामा हस्तान्तरण भएपछि यहाँका नागरिकहरु निकै खुशी भएका छन् । जिल्लामा स्वास्थ्य सामग्री तथा शयया अभावमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भइरहेका बेला मन्त्री आलेले स्वास्थ्य सामग्री पठाउनु भएपछि उपचारमा सहज हुँने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अक्सिजन लगायत अन्य स्वास्थ्य सामग्री नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको थियो, मन्त्रीज्यूले स्वास्थ्य साम्रगी सहित शयया उपलब्ध गराउनु भएपछि अब उपचार गर्न सहज हुने छ ।” मन्त्री आलेले पठाउनु भएका स्वास्थ्य सामग्री कम्तिमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ । यसैगरी मन्त्री आलेले भोली मंगलबार यहाँको सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामाग्री बितरण गर्नु हुने कार्यक्रम तय भएको छ ।

पछिल्लो समय जिल्लामा अभाव भएका औषधिहरु समेत मन्त्री आलेको लगानी तथा पहलमा उपलब्ध भएपछि उपचार गर्नमा धेरै सहज हुँने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । मन्त्री आलेले जिल्लामा यसअघि पनि २२ थान अक्सिजनले भरिएका सिलिन्डर प्रदान गर्नु भएको थियो भने उहाँको पहलमा जिल्ला अस्पतालमा अक्सिजन पाइप लाईन तथा प्लान्ट (कारखाना) स्थापनाका लागि अर्थ मन्त्रालयले रु एक करोड ५० लाख बजेट विनियोजित गरेको थियो । यसैगरी कोरोना सङ्क्रमणका बिरामीलाई अक्सिजन तथा एचडियु बेड अभावमा समस्या उत्पन्न भएपछि मन्त्रीआलेका पहलमा पुनः अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा पाँच बेडको एचडियु बिस्तार (जडान) का लागि रु ८० लाख बजेट विनियोजित गरेको थियो । पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना सङ्क्रमणका बिरामीले अकालमै ज्यान गुमाएका थिए । जिल्लामा हाल सम्म कम्तिमा पनि ६०० जना कोरोना सकृय कोरोना सङ्क्रमितहरु रहेका छन् भने कोरोनाकै कारण उपचारकै क्रममा पाँच जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्