रिपोर्ट पर्खंदापर्खंदै निधन, अन्त्येष्टिपछि पोजेटिभ



मोतीराम तिमल्सिना, काभ्रे

काभ्रेमा स्वाब दिएकाको रिपोर्ट लास जलाइसकेपछि मात्र आउने गरेकाले कोरोना भाइरस समुदायमा फैलने त्रास बढेको छ । स्वाब दिएका अन्य व्यक्तिहरु पनि समयमै रिपोर्ट प्राप्त नहुँदा समुदायमा खुलमखुला हिँड्ने गरेकाले संक्रमण तीव्ररूपमा फैलन थालेको छ ।रिपोर्ट आउँछ र अन्त्येष्टि गरौंला भन्दाभन्दै कुरेको तीन दिनपछि रिपोर्ट प्राप्त भएको एक पीडितका आफन्त बताउनुहुन्छ । ‘आस नै मरेपछि कोरोना संक्रमण पोजेटिभ, नेगेटिभ जे भए पनि लगेर अन्त्येष्टि ग-यौं’, पीडितका छोराले भन्नुभयो– ‘बुबाको अन्त्येष्टि सकेर फर्किएपछि पोजेटिभ भएको रिपोर्ट आयो ।’ मजुवामा ३१ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा १६ जनामा संक्रमण देखिएको छ । झण्डै एक सयभन्दा धेरै व्यक्ति बिरामी परेको स्थानीयहरुले बताएका छन् ।

रोशी गाउँपालिका–३ शिखर आम्बोटे मजुवाका ६८ वर्षीय पुरुषलाई केही दिन ज्वरोसहित कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखा प-यो । केही दिनको पखाइपछि गाउँपालिकाले शुरु गरेको निःशुल्क स्वाब संकलन कार्यमा सहभागी भई २०७८ जेठ २ गते उहाँले कोरोना परीक्षणका लागि स्वाब दिनुभयो । ज्वरो कम भएन । अस्पताल लैजान नपाउँदै घरमै उहाँको निधन भयो ।गाउँपालिकाले पठाएको स्वाबको रिपोर्ट जेठ ५ गते साँझसम्म पनि प्राप्त हुन सकेन । ‘वैशाख ३१ गतेको रिपोर्ट जेठ ५ गतेसम्म प्राप्त हुन सकेको छैन’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मर दाहालले भन्नुभयो– ‘रिपोर्ट कुर्दाकुर्दै बिरामीको निधन हुन थालिसक्यो ।’ प्रादेशिक ल्याबमा रिपोर्ट आउन ७ दिनसम्म लाग्ने गरेको पालिकाका स्वास्थ्य शाखाहरुले जानकारी दिएका छन् ।

रोशी गाउँपालिकाकै वडा नम्वर १२ का एक व्यक्तिको जेठ ५ गते राति अस्पताल ल्याउँदाल्याउँदै मंगलटारमा एम्बुलेसभित्रै निधन भयो । केही दिन कोरोनासँग मिल्ने लक्षणका कारण बिरामी भई कम भएको अवस्थामा उहाँले स्वाब परीक्षण गराउन मान्नुभएको थिएन । तर, उहाँकै घरका ४ जनाको स्वाब परीक्षण गरिएको तीन दिन भयो रिपोर्ट आएको छैन ।पनौती, बेथान्चोक, रोशी, चौरीदेउराली, खानीखोलालगायतका क्षेत्रबाट संकलन भएर आएको स्वाबको रिपोर्ट ५ दिनसम्म नआएको स्वास्थ्य शाखाका प्रमुखहरुले जानकारी दिएका छन् । बनेपा, पाँचखाल, मण्डन, नमोबुद्ध नगरपालिकाबाट संकलन भएको स्वाबहरुको रिपोर्ट पनि समयमै प्राप्त हुने गरेको छैन । प्रादेशिक ल्याबमा जम्मा भएका स्वाबहरुको चाङको पालो कहिले आउँछ ठेगान छैन । रिपोर्ट कुर्दाकुर्दै व्यक्तिको निधन हुने, अन्य व्यक्तिहरुसँग घुलमिल गरी संक्रमण फैलने क्रम तीव्र भएको छ ।

काभ्रेमा कोरोना परीक्षणका लागि दुईवटा ल्याब सञ्चालनमा छन् । धुलिखेल अस्पताल र प्रादेशिक ल्याबमा परीक्षण भए पनि प्रादेशिक ल्याबमा निःशुल्क र धुलिखेल अस्पतालमा शुल्क लाग्ने गरेको छ । प्रादेशिक ल्याबमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, धादिङलगायतका जिल्लाबाट दैनिक १ हजारभन्दा बढी स्वाब आएका कारण परीक्षणमा ढिलाइ भएको प्रादेशिक ल्याब धुलिखेलका प्रमुख नारायण कार्कीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ल्याब भएका जिल्लाको स्वाब नलिने र भएका जिल्लाहरुको स्वाब छिटो परीक्षण गरी समयमै रिपोर्ट दिने गरी निर्देशन दिएको बताउनुभयो ।

धुलिखेल अस्पताललाई सरकारले ल्याब तथा अन्य उपकरणका लागि हरेक वर्ष रकम उपलब्ध गराउँदै आएको छ । जिल्लामा हुने स्वाब परीक्षणलाई धुलिखेल अस्पतालको ल्याबमा निःशुल्क गराई छिटो रिपोर्ट प्राप्त हुने गरी नागरिकलाई संक्रमण फैलनबाट रोक्न पहल गर्न संकट व्यवस्थापन केन्द्रलाई पालिकाहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्