कोरोना नियन्त्रणको प्रयासमा बल्ल जुट्दैछन् पर्वतका स्थानीय तह



न्युज अफ नेपाल, पर्वत ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि संक्रमणको पहिलो लहरमा सक्रिय भएका पर्वतका स्थानीय तह दोस्रो लहरमा भने बल्ल नियन्त्रण प्रयासमा जुट्न थालेका छन् । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पछिल्लो समयमा मात्रै पर्वतका स्थानिय तहले संक्रमण नियन्त्रणका लागि प्रयास थालेका हुन् ।

पर्वतका स्थानिय तहले अस्थायी अस्पताल निर्माण गर्ने, गाउँगाउँमा पुगेर संक्रमितको पहिचान गर्ने तथा स्वास्थ्यकर्मी सहित घरघरमै पुगेर बिरामीलाई भेट्ने र उपचारमा सहयोग गर्न थालेका छन । पहिलो चरणमा सदरमुकाम कुस्मा बजारमा पुलिङ क्वारेनटाइन र पब्लिक आइसोलेसन निर्माण गरेर हरेक पालिकाका संक्रमितहरुलाई एकत्रित रुपमा राखेर उनीहरुको उपचार गरिएको भए पनि दोस्रो लहरमा काम गराइको शैली आ–आफ्नै बनेको छ। कुस्मा नगरपालिकाले पर्वत अस्पतालसँगको सहकार्यमा संक्रमितहरुको उपचारको लागि आइसोलेसन वार्ड निर्माण गरेको छ। नगरपालिकाले कोरोना संक्रमितलाई अस्पताल सम्म पु¥याउन सवारीसाधनको निःशुल्क व्यवस्था पनि गरेको छ। १४ वटै वडामा बिरामी ओसारपसारका लागि सवारीसाधनको व्यवस्था गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

समुदायमा नै संक्रमण फैलिएको जलजला गाउँपालिकाले २० शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार वडा नम्बर ८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पतालमा ६ शैयामा अक्सिजन जडान गरिएको छ। सबैभन्दा दुर्गममा रहेको बिहादी गाउँपालिकामा पनि संक्रमितलाई उपचारका लागि ६ शैयाको अस्पताल सञ्चालनमा आएको छ । यसमा चिकित्सक सहितको ब्यबस्था गरिएको अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो ।

यस्तै, महाशिला गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पताल निर्माण गरेर संक्रमितहरुको उपचार गरिरहेको छ। व्यवस्थित रुपमा निर्माण गरेको अस्पतालमा आठ वटा अक्सिजन सिलिन्डर जडान गरेर कोरोना नियन्त्रणको प्रयास गरिरहेको छ। मोदी गाउँपालिकाले डाक्टर सहितको अस्थायी अस्पताल चलाएको प्रबत्ता बिमल लामिछानेले बताउनुभयो । गाउँपालिकाले महिला, बृद्ध र सुत्केरीलाई निशुल्क एम्बुलेन्सको सेवा समेत दिइरहेको छ ।
फलेबास नगरपालिकाले १० शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ भने घरघरमै पुगेर परामर्श दिने काम थालेको छ ।

जिल्लाका अन्य स्थानीय तहहरुले पनि सुरुवाती चरणमा आइसोलेसनको वार्डको निर्माण गरेर संक्रमितको उपचारको लागि काम गरिरहेका छन्। ठूलो रकम पहिलो चरणमा नै खर्च भएका कारण दोस्रो चरणमा राहत वितरणको काम सुरु नभएको तर कोही पनि भोको रहने अवस्था आएमा रकमान्तर गरेर भए पनि भोक मेटाउन र सङ्क्रमितको ज्यान बचाउन लागि पर्ने स्थानीय तहका अधिकारीहरु बताउँछन्। दोस्रो चरणको संक्रमणमा पर्वतमा हाल सम्म ५ सय ७४ जना संक्रमित थपिएका छन । त्यस मध्ये ८३ जनाले कोरोना जितेका छन भने ४ सय ७८ जना सक्रिय संक्रमित रहेका न । पर्वतमा कोरोनाबाट २५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्