तरकारीजन्य वस्तुको अभाव



दिलकुमार लिम्बु, ताप्लेजुङ

कोभिड–१९ को संक्रमण बढेसँगै जिल्लाको फुङ्लिङ बजारमा तरकारीजन्य वस्तुको चरम अभाव भएको छ । गत २० वैशाख निषेधाज्ञा लागू भएयता तरकारी तथा खाद्यान्य वस्तुको अभाव हुन थालेको हो ।निषेधज्ञाको समयमा बाहिरबाट आयात गर्ने अवस्था नहुँदा र जिल्लाभित्रै उत्पादन हुने तरकारीजन्य वस्तुको बिक्री वितरण पनि ठप्प हुँदा फुङ्लिङ बजारमा अभाव भएको हो ।

निषेधाज्ञामा मानिसहरु घर बाहिर निस्कने अवस्था नहुँदा र सदरमुकाममा हप्तामा दुई दिन मंगलबार र शनिबार लाग्ने हाट बजार पूर्ण रुपमा बन्द छ । हरियो सागसब्जी, गोलभेंडा, खुर्सानीजस्ता तरकारीजन्य वस्तु पाइन छोडेको स्थानीयले बताएका छन् । तरकारी पसल र हाटबजारमा निर्भर रहँदै आएका बजारबासीका लागि निषेधाज्ञापछि तरकारी पसल तथा हाटबजार दुवै बन्द भएपछि अभाव सिर्जना भएको छ । अधिकांश बजारका बासिन्दाले मंगलबार लाग्ने हाटमा खरिद गरेको तरकारीले शनिबारसम्म र शनिबारका हाटबाट खरिद गरेको तरकारीले मङ्गलबारसम्म पु-याउँदै आएका थिए ।

अहिले हाटबजार बन्द भएपछि र घुम्ती व्यापार पनि कोभिड–१९को त्रासले बजार क्षेत्रमा नआउँदा तरकारीजन्य वस्तु उपभोग गर्न पाइन छोडेको फुङ्लिङ बजारकी स्थानीय मनिषा लिम्बूले बताउनुभयो । बजारमा आलु, प्याजजस्ता सीमित तरकारी पाइए पनि अत्यधिक महँगो मूल्यपर्ने गरेको लिम्बूले बताउनुभयो ।सदरमुकाम फुङ्लिङ बजारका लागि जिल्लाभित्रै उत्पादन हुने तरकारीले ६० प्रतिशत बढी धान्ने गरेको छ । यद्यपि, बजार नजिकका ग्रामीण क्षेत्रमा उत्पादन भएका गोलभेंडा, भिन्डी, च्याउ, काउली, धनियाँ, बन्दा, गाँजर, मुलाजस्ता तरकारीजन्य वस्तु अहिलेको निषेधाज्ञाको समयमा उत्पादन गर्ने किसानले बजारमा ल्याएर बिक्री गर्न पाएका छैनन् । अझै महामारीको अवस्था जटिल बन्ने र निषेधाज्ञाको समय लम्बिँदै गएमा बजारका उपभोक्ताले तरकारीजन्य वस्तुको उपभोग गर्न पाउने छैनन् भने तरकारी खेतीमा लगानी गर्ने किसानको लगानी डुब्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्