राजनीति–लाजनीति !



देशको मूल नीति राजनीतिबाट परिचालन हुने गर्छ । मूल नीति बनाउने काम राजनीतिक दलहरुकै हो । देशको मूल कानुन संविधान बनाउने काम पनि राजनीतिक दलहरुकै हो । शासन सञ्चालन गर्ने र संविधानको कार्यान्वयन गराउने मुख्य काम जनताबाट निर्वाचित सरकारले गर्ने भएकाले उसको भूमिका सर्वाधिक महत्वपूर्ण हुने गर्छ । सिद्धान्ततः राजनीति भनेको निःस्वार्थ जनताको सेवा हो ।

राजनीतिक दलको उद्देश्य मुनाफा कमाउनु होइन । देश र जनताप्रति निःस्वार्थरूपमा सेवा गर्ने उद्देश्यको साथ राजनीतिक दल खोलिएका हुन्छन् । तर, नेपालमा राजनीतिक दल भनेको नाफा कमाउन खोलिएको भन्दा कुनै फरक नपर्ने अवस्था छ । देश जनताका लागि भन्दा पनि आफू र आफ्नो नातागोताका लागि राजनीतिक दलहरु लागिपरेका देखिन्छन् । जनताप्रति समर्पित हुने भन्दा पनि व्यक्तिगत स्वार्थ प्राप्तिका लागि राजनीतिक दलहरुको दौडधुप चलिरहेको देखिन्छ ।देश अहिले कोरोना संक्रमणबाट सिर्जित महामारीको चपेटामा छ । नागरिक अक्सिजन नपाएर ट्याक्टर र सडकमै मृत्युवरण गरिरहेका छन् । अस्पतालमा आईसीयू र भेन्टिलेटरयुक्त बेड पाउनसकिने अवस्था छैन । बिरामीका आफन्तहरु अक्सिनका लागि हारगुहार गरिरहेका छन् । संक्रमित बिरामी बाँच्नका लागि चित्कार गरिरहेका छन् । जबकि स्वास्थ्यलाई संविधानमा मौलिक हकअन्तर्गत राखिएको छ । मौलिक हकअन्तर्गत परेका कारण स्वास्थ्य सेवा दिनु सरकारको दायित्व र जिम्मेवारी हो ।

तर, सरकार अहिले आफ्नो दायित्व र कर्तव्यबाट पन्छिँदै आएको छ । कोरोनाविरुद्धको खोप ल्याउनका लागि ढिलाइ गर्नु, छिमेकी भारतमा कोरोना संक्रमण भयावहरूपमा फैलिँदा पनि नेपालमा सतर्कता नअपनाउनु, पर्याप्त अक्सिन सिलिन्डरको व्यवस्था गर्न नसक्नु लगायतका कारण अहिले कोरोना संक्रमणबाट नेपालीहरुको धमाधम निधन भइरहेको छ । नागरिक उपचार नपाएर छटपटाउँदा पनि यसपटक सत्ताको खेलमा राजनीतिक दलहरु निर्लज्ज भएर लागेको देखियो । सत्ता ढाल्ने र जोगाउने षड्यन्त्रमा राजनीतिक दलहरु दौडधुपमा देखिँदा संक्रमित नै लज्जित हुने अवस्था सिर्जना भयो । सरकार र राजनीतिक दलहरुले यस विपद्का घडीमा आफ्नो सर्वस्व सरकारलाई नै सम्झिएका छन् । निर्वाचनमा मतदान गरेका जनप्रतिनिधिहरुलाई खोजिरहेका छन् । अग्रगामी नारा र भाषण दिने राजनीतिक दलहरुको पहल पर्खिरहेका छन् । नागरिकलाई सरकार र राजनीतिक दल चाहिने भनेकै दुःख र आपत्–विपद् पर्दा हो । चुनावमा भोटका लागि खुट्टा ढोग्न आउने राजनीतिक दलका नेता कार्यकर्ता अहिले के गर्दै छन् ? जनता सोधिरहेका छन् । आफूले जिताएर पठाएका जनप्रतिनिधि के गर्र्दै छन् भनेर खोजिरहेका छन् ।

यस्तो जटिल परिस्थितिमा पनि जनताको जीवन जोगाउनका लागि समर्पित भएर नलाग्ने राजनीतिक दललाई देखेर जनताले राजनीतिलाई लाजनीतिका रूपमा बुझ्न थालेका छन् । जे गर्दा पनि लाजै नहुने नकच्चरोपनले ओतप्रोत नीतिको नाम राजनीति हुनपुगेको प्रतीत हुन्छ । जनतालाई आपत्–विपद् पर्दा उनीहरुसँग सहानुभूतिको भाव देखाउन नसक्ने जनप्रतिनिधि जो हिजो सर्वहाराको शासनको कुरा गर्थे, उनीहरुलाई देखेर मतदाताहरु नै लाजले शिर निहुराउन थालेका छन् । जनता जीवनमरणको लडाइँ लडिरहँदा पनि साथ नदिने राजनीतिक दललाई उनीहरु बोझको भाँडो ठानिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्