ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आचार्यको कोरोनाबाट निधन



काठमाडौ, (नेस)

चर्चित ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आईएल आचार्यको कोरोना संक्रमणका कारण आइतबार बिहान करिब साढे ३ बजे स्टार अस्पताल सानेपामा निधन भएको छ । आचार्यलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या आएका कारण वैशाख १८ गते स्टार अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले बताउनुभयो ।

८३ वर्षीय डा. आचार्यलाई अस्पताल ल्याउँदा डा. आचार्यको ७५ प्रतिशत फोक्सोमा निमोनिया भइसकेको थियो । निरन्तरको उपचारपछि स्वास्थ्यमा सुधार आउनुका साथै २९ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको थियो । यद्यपि निमोनिया पूर्ण निको नभएका कारण उहाँलाई विशेष आईसीयूमा राखी उपचार भइरहेको थियो । निमोनिया पनि कम हुँदै गएको र अक्सिजनको निर्भरतासमेत घटिरहेका बेलामा शनिबार दिउँसोबाट डा. आचार्यको स्वास्थ्य अवस्था अचानक बिग्रिएको र अक्सिजनको आवश्यकता बढ्न थालेको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि रातभरि नै विशेषज्ञ चिकित्सकहरू निगरानीमा राखिए पनि उहाँलाई बचाउन नसकिएको डा. रुपाखेतीले बताउनुभयो ।

डा. आचार्यको राति नै निधन भए पनि आइतबार बिहान परिवार आएपछि मात्रै भेन्टिलेटरबाट निकालेर मृत घोषणा गरिएको अस्पतालले जनाएको छ । पेट तथा कलेजोसम्बन्धी रोगको उपचारमा चर्चित डा. आचार्यले लामो समयसम्म काठमाडौं अस्पतालमा काम गर्नुभएको थियो । उहाँमा कोरोना संक्रमण देखिनु अघिसम्म निदान अस्पताल र स्टार अस्पतालमा खटिइरहनुभएको मृगौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्