पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा



हरिहर नेपाल, विराटनगर

कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने भएको हो ।

महामारीको समयमा अस्पताल वा क्लिनिक जान समस्या हुने भएकाले टेलिमेडिसिन सेवा दिइने भएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस् भनेर क्युरा हेल्थले यस्तो सुविधा दिन लागेको क्युरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताउनुभयो । कोरोना संक्रमणपछि उत्पन्न हुन सक्ने डर, त्रास र संक्रमितको मनोवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यसैबीच, क्युरा हेल्थसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च –एनवाईईएफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरुलाई सम्पर्क गराउन छुट्टै वेभ लिंक सञ्चालनमा ल्याएको छ । एनवाईईएफ विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सबै त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरु पनि अन्योलमा परिरहेको बताए । प्लाज्मा दान गर्न चाहनेले सो वेबसाइटमार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरुले सम्पर्क गर्न सक्ने र संक्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरुको विवरण थाहा पाउन सहज हुने बताउनुभयो । अध्यक्ष खनालले अस्पतालहरुमा उपचाररत संक्रमितहरुका लागि सामाजिक सञ्जालहरुमा प्लाज्मा आवश्यक भएको सूचनाहरु धेरै आउन थालेकाले प्लाज्मा दिन इच्छुकहरुलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्