शपथमा ठट्टा



प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथलाई ठट्टाका रूपमा प्रस्तुत गर्नुभएको छ । शपथ लिएको दृश्य हेर्ने र आवाज सुन्ने हो भने त्यो राष्ट्रको वरीयता क्रममा रहेका पहिलो र तेस्रो व्यक्तिबाट भएको कार्य केटाकेटी खेलेजस्तो देखिन्छ । शपथ ग्रहण ठट्टाको विषय हुन सक्तैन । शपथ लिने कार्य परापूर्वकालदेखि नै चलिआएको छ । नेपालमा मात्र नभई विश्वका प्रायः सबै देशमा कुनै महत्वपूर्ण पदको कार्यभार सम्हाल्नुअघि शपथ लिने गरिन्छ । हेर्दा लाग्न सक्छ, शपथ केही पनि होइन, यसमा भनेको कुराले सम्बन्धित पक्षलाई बाँध्न सक्दैन । तर, त्यसो होइन । शपथ अनिवार्य छ ।

व्यवहारतः शपथमा बोलिएको वचन पूरा गरेन भने त्यसलाई लिएर कानुनले शपथ लिने पदाधिकारीलाई कारबाही गर्ने प्रावधान छैन । तर पनि कुनै कार्य प्रारम्भ गर्नुअघि बोलेको कुराले उसलाई सधैं झस्काइरहन्छ भन्ने विश्वास गरिन्छ । केही वर्षअघि मात्र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पदको शपथ लिने क्रममा एउटा शब्द गल्ती भएपछि उहाँले भोलिपल्ट पुनः शपथ लिनुभएको थियो । यसबाट उहाँप्रति अमेरिकी जनता मात्र होइन, विश्वकै व्यक्तिहरुले उहाँप्रति श्रद्धा व्यक्त गरेका थिए । यसबाट पनि शपथलाई मजाकका रूपमा लिनुहुँदैन, यो अत्यन्त गम्भीर विषय हो भन्ने बुझिन्छ । तर, म नै सर्वेसर्वा हुँ, मैले जे गरे पनि हुन्छ, जनता त मभन्दा धेरै तलका व्यक्ति हुन् भन्ने सोचाइ राख्ने प्रवृत्ति बोकेका व्यक्तिका लागि यो गम्भीर विषय हुँदैन । शपथ लिँदा एउटा शब्द छुट््यो भने वा बोल्दा गल्ती भयो भने त्यसले सच्चा राष्ट्रसेवकको आत्मालाई सन्तुष्टि दिँदैन । त्यसै भएर पनि अमेरिकी राष्ट्रपति ओबामाले जनतासँग माफी माग्दै पुनः शपथ लिएको उदाहरण हाम्रासामु छ । यसै गरी, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झालाई पनि सर्वोच्च अदालतले पुनः शपथ लिन लगाएको दृष्टान्त हाम्रैसामु छ ।

शपथमा उल्लेख भएका शब्दहरु छानेर मन नपरेका शब्द उच्चारण गर्दिनँ भन्न पाइँदैन । ती शब्दहरु हुबहु उच्चारण गर्नुपर्छ । मन मस्तिष्कबाट नै ती शब्दहरु पढ्नुपर्छ अर्थात् उच्चारण गर्नुपर्छ । प्रधानमन्त्री ओलीले पनि शपथमा उल्लेख भएका शब्दहरु हुबहु उच्चारण गरेर पदको गरिमा बचाउने प्रतिबद्धता जनाउनुपर्छ । पद समालेपछि गरिने पहिलो काम नै शपथ ग्रहण हो, त्यसमै गम्भीर नभएको व्यक्ति अन्य काममा कति गम्भीर होला भन्ने अर्थ लाग्छ । उसो त उहाँको यसभन्दा अघिको प्रधानमन्त्रीत्वले नै गाम्भीर्य बहन गर्न सकेको थिएन । संविधानको धारा ७६ (३) बमोजिमको प्रधानमन्त्रीको शपथ लिने कार्यको गम्भीर गल्ती भएपछि यो कार्यकाल पनि पहिलेको जस्तै हुने हो कि भन्ने जनताले आँंकलन गर्नु स्वाभाविक भएको छ । त्यसैले पनि प्रधानमन्त्री ओलीले अमेरिकी पूर्वराष्ट्रपति ओबामाले जस्तै पुनः शपथ लिने साहस गर्नुपर्छ । दोस्रोपटक शपथ लिँदा ओबामाको हाइट चुलिएको थियो । प्रधानमन्त्री ओलीले ओबामाको उचाइ देखाएर पुनः शपथ नलिने नै हो भने, सार्वजनिक समारोहमा आम जनताले बुझ्ने भाषामा ‘गल्ती भयो’ भन्नुपर्छ, माफी माग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्