प्रहरीद्वारा ६७० थान अक्सिजन सिलिण्डर संकलन



न्युज अफ नेपाल, हेटौंडा ।

अक्सिजनको अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थाप्रति संवेदनशील भएर बागमती प्रदेश प्रहरीले अक्सिजन सिलिण्डर संकलन कार्यलाई अभियानका रुपमा सञ्चालन गरेको छ ।

जसमध्ये कोभिड संकट व्यबस्थापन सञ्चालन केन्द्र छाउनी काठमाडौँलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराइएको, स्वर्गद्वारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाइवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर बितरण गरिएको जनाइएको छ ।

प्रदेशअन्तर्गत् प्रहरी एकाईंहरुबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, स्क्र्याप उद्योग, हाइड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तिसमेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डर संकलन गर्दा शुक्रबारसम्म १ सय २९ थान भरिएका र ५ सय ४१ थान खाली गरी ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

संकलन गरिएका अक्सिजन सिलिण्डरहरु जिल्लाको डीसीसीएमसीको निर्णयअनुसार आवश्यकताका आधारमा विभिन्न अस्पताल, आइसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्य अघि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिलवालले बताउनुभयो । उहाँले लकडाउन भएपश्चात् सुरु गरिएको अभियानमा उद्योगधन्दा, क्रसर, वर्कसप, ग्यारेज सञ्चालकले स्वःस्र्फुत सहयोग गरेको बताउनुभयो ।

मकवानपुरसहित प्रदेशका अन्य जिल्लाहरुमा बढ्दो कोभिड संक्रमणसंगै संक्रमितलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युवरण गर्नुपरेका घटनाहरु बढ्दै गइरहेकाले अभियान सञ्चालन गरिएको सिलवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्