सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध



उक्तम नेपाल, भद्रपुर

बस्ती नजिकै कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न स्थानीयले अरोध गरेपछि शव मृतककै घर–आँगनमा अन्तिम संस्कार गरिएको छ । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीबासीले सङ्क्रमितको शव बोकेको एम्बुलेन्स बाटैमा रोकेर अवरोध गरेपछि मृतकको शव उनकै जग्गामा व्यवस्थापन गरिएको हो ।

गाउँघरमा सङ्क्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको एम्बुलेन्सलाई सुरक्षाकर्मीले अन्यत्र लगेका थिए । अवरोधका कारण शव बोकेको एम्बुलेन्स पाँच घण्टासम्म सडकमै रोकिएको थियो । उनीहरूले सडकमै ठूल्ठूला ढुङ्गा राखेर अवरोध गरेका थिए ।घटना विवरणअनुसार कचनकवल गाउँपालिका–७ स्थित बालुवाडी निवासी अन्दाजी ६० वर्षीय सङ्क्रमित पुरुषको मेची कोभिड उपचार केन्द्रमा बुधबार मृत्यु भएको थियो । वैशाख २३ गते सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । मंगलबार राति श्वास–प्रश्वास समस्या आएपछि गाउँपालिकाकै एम्बुलेन्स चढेर उपचारका लागि मेची अस्पताल गएका थिए । उनको त्यहाँ केही घण्टाभित्रै मृत्यु भएपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले एम्बुलेन्समार्फत शव कचनकवल–५ स्थित पाठामारीको मेची नदी घाट ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । मेचीनदी घाटमा जेसीभीले खाल्टो खनेलगत्तै विरोधमा उत्रिएका स्थानीयवासीले एम्बुलेन्स पुगेपछि झन् चर्को विरोधमा उत्रिएको उहाँले बताउनुभयो ।नदीकिनारमा शव व्यवस्थापन गर्न नदिने भन्दै आएका स्थानीयले पछि सङ्क्रमितको शव बोकेको एम्बुलेन्स पनि गाउँको बाटोबाट हिँड्न नदिने भएपछि घटनास्थल घण्टौं तनावग्रस्त बनेको थियो ।

त्यसपछि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो । गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, जनप्रतिनिधिसहित प्रहरी टोलीका इन्चार्जले समेत सम्झाउँदा गाउँले नमानेपछि समस्या झन् बल्झिँदै गएको स्थानीय रत्नकुमार बुढाथोकीले बताउनुभयो । स्थानीयको अवरोधपछि नेपाली सेनाको शव व्यवस्थापन टोली एम्बुलेन्समै घण्टौं रोकिएको थियो । त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर एम्बुलेन्स मृतक व्यक्तिकै घरतर्फ लगेका थिए ।सङ्क्रमित व्यक्तिको शव उनकै घर–आँगनमा दाहसंस्कार गरिएको स्वास्थ्य शाखा प्रमुख यादवले बताउनुभयो । गाउँपालिकाले पूर्वमा मेची नदी र पश्चिममा बिरिङ खोलाकिनारमा सङ्क्रमितको शव व्यवस्थापन गर्ने भनी निर्णय गरिसकेको छ । सोही निर्णयबमोजिम नै शव मेची नदीघाट लगिए पनि स्थानीयको विरोध आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्