आतंकित नबनाऊ !



मुलुकमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको छ । सक्रिय संक्रमितको संख्या झण्डै एक लाख पुगेको छ । देशभरका अस्पताल बिरामीले भरिभराउ छन् । अधिकांश अस्पतालमा अक्सिजन अभावका कारण संक्रमितको मृत्यु हुन थालेको छ । यस्तो भयाभह अवस्थाले गर्दा मुलुक पूर्ण आतंकित बनेको छ । अस्पतालले अक्सिजन नभएको कारण देखाउँदै बिरामी भर्ना लिन नसक्ने जनाएका छन् । यस्तो भयाभह अवस्थामा अस्पतालले अक्सिजन नभएका कारण कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने जनाएपछि आतंक थपिएको छ ।

समस्या परेका बेला भित्रीरूपमा समाधानको बाटो अपनाउन छाडेर भर्ना लिन नसक्ने कारण देखाउँदै भर्ना बन्द गराउनु ठीक हो कि होइन, बहसको विषय बनेको छ । राजधानीका ठूला भनिएका काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल मेडिसिटी, ह्याम्स, ग्रान्डी, रूपन्देहीको युनिभर्सललगायतले बिरामी भर्ना लिन नसकेकोमा क्षमायाचना गर्दै विज्ञप्ति निकालेका छन् । यहाँसम्म कि सरकारले सञ्चालन गरेको ट्रमा सेन्टरमा समेत अक्सिजन अभाव भएको जानकारी गराइएको छ । यस अवस्थामा अस्पतालहरुले अक्सिजनको समस्या परेको विषय आन्तरिकरूपमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनुपर्ने थियो, तर सार्वजनिक विज्ञप्ति जारी गरी आतंक फिँजाउनु आपत्तिजनक देखिन्छ । यस्तो संवेदनशील अवस्थामा जनातालाई अस्पतालमा कुनै समस्या नभएको बताएर बिरामीको मनमा मलम लगाउने काम गर्नुको साटो तर्साउने काम गर्नु गम्भीर गल्ती हो । अस्पतालको यस्तो अवस्था सुन्दा ‘होम आइसोलेसन’मा बसेका संक्रमितलाई गम्भीर असर पर्न थालेको छ ।

महामारीको अवस्थामा मानसिक उपचार वा ढाडस मात्र पनि ठूलो उपचार हो । कोरोना संक्रमणको पहिलो चरणमा विश्वका शक्तिशाली मुलुक अमेरिका, बेलायत, इटाली, ब्राजिल, भारतलगायतका दजनौं मुलुकलाई अक्सिजन जुटाउन हम्मे–हम्मे परेको थियो । हामीलाई असजिलो पर्नु अस्वाभाविक होइन । हिजोआज भारतको अवस्था त्यस्तै छ । विकसित देशमै यस्तो समस्या आउँदा समाधान गर्न महिनौं लागेको थियो । हामीकहाँ पनि समय लाग्छ नै, तर संवेदनशील अवस्थामा कसरी प्रतिक्रिया जनाउने, त्यसको असर कसलाई कसरी पर्छ भनेर ख्याल गर्ने कि नगर्ने ?भनिन्छ, महामारी बाजा बजाएर आउँदैन । सरकारले कोरोना संक्रमण बढ्न सक्ने आंँकलन एक वर्षअघि नै गरेको थियो । केही तयारी पनि गरेकै हो । अहिले भयावह अवस्था भएपछि सरकारले विश्वसंँग सहयोगको हात फैलाइसकेको छ । सहयोगी मुलुकले स्वास्थ्य सामग्री दिने वचन दिइसकेका छन् ।

त्यसैले अहिले नै आत्तिएर मुलुकको स्वास्थ्य प्रणाली खत्तम भयो भन्नु त्यतिको सही हुँदैन । यस्तो अवस्थामा सरकारले गरेको कामको थोरबहुत प्रशंसा गर्नु, वस्तुवादी बनेर प्रकट हुनु आवश्यक छ । गाली मात्र गरेर समस्याको समाधान गर्न सकिँदैन । आ–आफ्नो तह तप्काबाट सहयोग गर्नुपर्छ । आत्तिएर स्वास्थ्य सामग्री सकियो, अवस्था अति नै खराब छ भन्नु गतल हुन्छ । जनतालाई तर्साउने काम बन्द गर्नुपर्छ । हो, सरकारले यो बेला राजनीतिक विवादमा अल्झिनु दुर्भाग्यपूर्ण हो, तर यसकै कारणले सरकारले गरेका र स्वास्थ्य क्षेत्रमा भएका सुविधालाई अवमूल्यन पनि गर्नुहुन्न । जनतालाई कसैले पनि आतंकित बनाउनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्