म्याग्दीमा थप १० दिन निषेधाज्ञा थपियो, कडाईका साथ लागू गरिने डिसीसीएमसी वैठकको निर्णय



प्रताप बानियाँ, म्याग्दी ।

नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि हिमाली जिल्ला म्याग्दीमा थप १० दिन निषेधाज्ञा थपिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आउँदो जेठ १० गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । यसअघि बेनी नगरपालिका क्षेत्रमा १० दिन र अन्य स्थानीय तहमा समेत लगाइएको निषेधाज्ञा शुक्रबार राति १२ बजे सकिँदै थियो ।

सोही अवधिलाई निरन्तरता दिँदै शुक्रबार राती १२ बजेदेखि आउँदो जेठ १० गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने डिसिसिएमीको वैठकमा निर्णय भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिनुभयो । पछिल्लो १० दिन थप गरिएको निषेधाज्ञा अवधिभर जिल्लामा थप कडाई गर्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । वैठकमा जारी लकडाउन फितलो हुँदा संक्रमणदर बढेको भन्दै थप कडाई गर्न सरोकारवालाहरुले आग्रह गरेका थिए । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् ।

निषेधाज्ञा अवधिभर सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारीसाधन मोटरसाईकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसलहरु २४सै घण्टा खुल्ला रहने छन् । तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालन गरी बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने बैठकको निर्णय छ । यसैगरी सार्वजनिक ठाउँमा जमघट र भेला हुने धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरु पनि सञ्चालन गर्न निषेध गरिएको छ भने अत्यावश्यक काममाबाहेक घर बाहिर ननिस्कने र हिँडडुल नगर्ने, मर्निक वाक, इभिनिङ वाक समेत गर्न रोक लगाइएको छ । त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला तथा जम्मा हुन भीडभाड गर्न, सभा, जुलुस गर्न र जात्रा, महोत्सव गर्न निषेध गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

एम्बुलेन्स, बिरामी तथा कुरूवा बोक्ने सवारीसाधन (बढीमा दुईजना)लाई मात्रै यात्रा गर्न दिइने भएको छ । दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, बिऊबिजन, ग्याँस तथा पेट्रोलियम पदार्थ, सञ्चार सेवा र निर्माण सामग्री बोकेका सवारीसाधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारीसाधनहरुबाहेक अन्यलाई रोक लगाइएको छ । औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका सवारीसाधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारीहरु, प्रेस पास तथा परिचयपत्रबाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारीसाधनहरु बाहेकका कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट सम्बन्धित स्थानीय तह वा सुरक्षा निकायको समन्वयमा मात्र सेवा प्रवाह गर्नुपर्नेछ । बिहीबारसम्म म्याग्दीमा कोरोनाका कुल सक्रिय संक्रमित १ सय ९४ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्