संस्कृतिमा ललितपुर – १६ वडाको अर्को कीर्ति

‘सांस्कृतिक संवेदनशीलताप्रति सम्मान’



न्युज अफ नेपाल, ललितपुर ।

८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ ।

रत्नाकर महाविहार, हखबहाःमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । ललितपुर महानगरपालिका– १६ को सहयोगमा नयाँ आसन तयार पारिएको हो । हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनुहुने छ ।

महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरी कुमारीलाई नयाँ आसनमा विराजमान गराइएको थियो । यस अघि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ सदस्य) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गर्नुभयो । वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई मातृशोक परेको कारण उहाँ उपस्थिति हुनुभएन ।

चाँदीको कलात्मक आसनमा सुन लेपन गरिएको छ । वरिष्ठ कलाकार प्रचण्ड शाक्यले सो आसन तयार गर्नुभएको हो । यस अघिको पुरानो आसनको ढाँचालाई हेरेर कलात्मक तरिकाले नयाँ आसन तयार गरिएकोे बताइएको छ । नयाँ आसनको लागत ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यस अघिको आसन निकै पुरानो र जीर्ण भएको हुनाले नयाँ आसनको लागि वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई एक वर्ष अघि आग्रह गरिएको स्मरण गर्दै महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले भन्नुभयो ‘ नयाँ आसन हस्तान्तरण गरेर वडाले संस्कृतिप्रति सम्मान गरेको अनुभूत गरेका छौं ।’

अहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उहाँका परिवारले प्रदान गर्नुभएको थियो। जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ ।

नयाँ आसन हस्तान्तरणले कुमारी परम्परालाई निरन्तरता दिइरहेका गुठीयार तिनका परिवारलाई मात्र नभई संस्कृति संरक्षणमा लाग्ने सबैका लागि गौरव र खुशीको अनुभूत गराएको बौद्ध विहार संघ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताउनुभयो ।वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो । सो अवसरमा वडाले संस्कृति सम्पदा क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको वडा सदस्य शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्