८० वर्षपछि जीवितदेवी कुमारीको आसन फेरिँदै



न्युज अफ नेपाल, ललितपुर ।

८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिने भएको छ ।

जीवित देवी कुमारी हरेक दिन नियमित पुजाको लागि बिराजमान हुने आसन जीर्ण हुँदै गएकोले फेर्न लागिएको हो । ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो । सुन र चाँदी लेपन गरिएको कलात्मक आसन वरिष्ठ कलाकार प्रचण्ड शाक्यले तयार गर्नुभएको हो ।

अहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उहाँका परिवारले प्रदान गर्नुभएको थियो।नयाँ आसन आउँदो बिहीबार रत्नाकर महाविहार हःखबहाःमा एक धार्मिक पुजाको आयोजना गरी हस्तान्तरण गर्न लागिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । नयाँ आसनमा हालका कुमारी निहिरा बज्राचार्य बिराजमान हुनुहुनेछ ।

आसन जीवित देवी कुमारी परम्पराको एउटा महत्वपूर्ण प्रतिक हो । ‘हाल प्रयोगमा ल्याइएको आसन धेरै पुरानो भएको जानकारी प्राप्त भएपछि नयाँ आसन तयार गर्न वडाले अग्रसरता लिएको हो ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘यस आसन कुमारी बिराजमान भइरहन आरामदायी सहज हुने विश्वास गरेका छौं ।’

जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ ।

नयाँ आसन हस्तान्तरण गर्न लागिएको खबरले कुमारी परम्पराको सम्मान र त्यस परम्परा निर्वाहमा संलग्न गुठीयार र तिनका परिवारमा गौरव र उत्साहको सञ्चार गरेको कुमारीका पिता निरोज बज्राचार्यको भनाई रहेको छ। आसन हस्तान्तरण गर्ने बेला नेवाः बौद्ध परम्परा अनुसार विहारका आजुहरुबाट संकल्प पुजा र पञ्चोपचार पुजा गर्ने तयारी भइरहेको महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले जानकारी दिनुभयो।वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारहरुले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्