रेम्डिसिभिरको कालाबजारी रोक्न नयाँ नीति



भगवती तिमल्सिना, काठमाडौं

कोरोना संक्रमितको संख्यासँगै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढेकाले कोरोनाका गम्भीर बिरामीलाई प्रयोग गर्दै आएको रेम्डिसिभिर औषधिमा भइरहेको कालाबजारी रोक्न सरकारले नयाँ नीति ल्याएको छ ।

औषधि व्यवस्था विभागले सोमबार सम्बन्धित अस्पतालले बिरामीको विस्तृत विवरण, चिकित्सकको प्रेस्क्रिप्सन तथा सिफारिस र औषधि लिन जाने व्यक्तिको फोटोसहितको परिचयपत्रसहित आयातकर्तालाई सम्पर्क गर्न सूचना जारी गरेको छ । सूचनामा सम्बन्धित अस्पताललाई विभागले जारी गरेकोे गुगल फर्म भरेर पेस गर्न समेत भनिएको छ ।औषधि व्यवस्था विभागका अनुसार सोमबारदेखि आयातकर्ता काठमाडौं, वसन्तपुरको वेयज इन्टरनेसनल प्रालिले थप २ हजार भाइल रेम्डिसिभिर उपलब्ध गराएको छ । बंगलादेशबाट आयात गरिएको उक्त औषधीको मूल्य प्रतिभाइल ४ हजार ८ सय तोकिएको पनि विभागले जनाएको छ ।

त्यसै गरी, मंगलबार २१ हजार ८ सय भाइल नेपाल भित्रिँदै छ । काठमाडौं, त्रिपुरेश्वरको आयान हेल्थ केयर प्रालिले हिमालयन एयरलाइन्सको विमान चार्टर्ड गरेर बंगलादेशको इन्सेप्टा कम्पनीको २० हजार र विकोन फर्मास्युटिकल्सको १ हजार ८ सय भाइल गरी २१ हजार ८ सय भाइल रेम्डिसिभिर ल्याउन लागेको हो ।औषधि व्यवस्था विभागका अनुसार मंगलबार १ बजे हिमालयन एयरलाइन्सको चार्टर्ड विमान बंगलादेश जाने र औषधि लिएर ४ बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्कनेछ ।यसअघि वैशाख २१ गते हाम्रो मेडिकन्सर्न प्रालिले व्याक्सिमो फर्मास्युटिकल्सबाट ३ हजार भाइल र २२ गते आयान हेल्थ केयर प्रालिले इन्सेप्टा कम्पनीबाट ४ हजार भाइल गरी जम्मा ७ हजार भाइल रेम्डिसिभिर मुलुकमा भित्र्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्