कालीगण्डकी करिडोरको ट्रयाक खोल्ने काम फेरि रोकियो



नेपाल समाचारपत्र, पर्वत ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा ट्रयाक खोल्ने काम फेरि अवरुद्ध भएको छ ।आगामी २ वर्षभित्रै पर्वत खण्डको सबै सडक कालोपत्रे सक्ने लक्ष्य राखे पनि पर्वतको फलेबास– अर्मादी खण्डमा ट्रयाक खोल्ने क्रममा सुख्खा पहिरोले स्काभेटर पुरेपछि दुई सातादेखि ट्रयाक खोल्ने काम फेरि अबरुद्ध भएको हो । पर्वत खण्डमा मोदीबेनीको करिब ५ सय मिटर ट्रयाक खुल्न बाँकी छ ।

ट्रयाक खुलाउने क्रममा गत चैत २५ मा कुश्मा–५ मोदीबेनीघाट नजिकै कालीगण्डकी नदी किनारमा एक्स्काभेटर खसेपछि यतिबेला काम रोकिएको छ । सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्रयाक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुंगाले लागी एक्स्काभेटर खसेको थियो ।ट्रयाक खोल्ने काम वैशाखभित्रै सक्ने लक्ष्य रहेको भए पनि मेसिन खसेपछि काम रोकिएको आयोजना प्रमुख सुबोध देवकोटाले बताउनुभयो । कडा चट्टान फुटाउने क्रममा मेसिनसहित मान्छे खसेर दुर्घटना भएपछि बाँकी काम कसरी अघि बढाउने भन्नेमा नै अन्योलता देखिएको छ । झन्डै २ वर्षसम्म सम्पर्कविहीन भएको सूर्य कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याएर काममा लगाइएको थियो । ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्रयाक खोल्न ढिलाइ भएको हो । ‘छिट्टै कालोपत्रका लागि काम अघि बढाउने योजना हो, मेसिन खसेपछि काम रोकिएको छ ।’ उहाँले भन्नुभयो –‘अब काम कसरी अगाडि बढाउने भन्ने विषयमा निर्माण व्यवसायी संग छलफल गर्दैछौं । ’

करिडोरअन्तर्गत पर्वतमा रानीपानी–फलेबास–ढिक खण्डको २३ किमी कालोपत्रका लागि ठेक्का सम्झौताको अन्तिम तयारी भएको छ । पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि एक अर्ब २३ करोड रुपियाँ विनियोजन भएको छ ।सडकले दक्षिणका एक नगरपालिका र ३ गाउँपालिकाको बस्ती जोड्छ । २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखाङ्कन गरिएको करिडोर २०६४ मा बागलुङतर्फ सरेको थियो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बागलुङ पु¥याइएको करिडोरको पर्वतमा कालीगण्डकी लोकमार्ग नामकरण गरी शाखा बिस्तार गरिएको थियो । हाल सडकको दुवै जिल्लालाई समान प्राथमिकतासाथ बिस्तार गरिएको आयोजनाले जनाएको छ ।

पर्वत खण्डमा सेतीबेनीदेखि रानीपानी खण्डको ७ किलोमिटरमा समेत कालोपत्रे गर्ने काम भैरहेको छ । करिडोरको पर्वतको कुस्मा र फलेबास जोड्न मोदीबेणीमा मोटरेबल पुलसमेत तयार भएकाले ट्रयाक ओपनको काम सक्ने हो भने कुस्मादेखि फलेबाससम्म १० किलोमिटर दुरी छोटिने छ ।

प्रतिक्रिया दिनुहोस्