साथी एपबाट घरमै पीसीआर टेस्ट गराऔं



काठमाडौ (नेस) ।

राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरूका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा शुरू गरेको छ ।विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ’घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरू (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज तथा सुरक्षाको लागि घरमै पीसीआर स्वाब संकलन गर्न मद्दत गर्दै आएको छ ।

यसअघि, कम्पनीले यात्रीहरूलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फुड डेलिभरी सर्भिस दिँदै आएको थियो ।कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले भन्नुभयो– ‘हाल उपत्यकामा मात्रै यो सेवा शुरू भए तापनि आउँदो दिनमा हामी यस सुविधालाई बिस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरूमा यो सेवा उपलब्ध गराउने छौं ।‘हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरू धेरै नै सुनिरहेका छांै । यही कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेलिएम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौं’उहाँले भन्नुभयो ।

हाल घरमै पीसीआर परीक्षण गराउने यो सेवा काठमाडौंमा शुरू भइसकेको छ भने आगामी दिनमा देशका अन्य शहरहरूमा पनि उपलब्ध गराउने योजना रहेको साथीले जनाएको छ ।सेवा लिनका लागि सेवाग्राहीले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारी राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । अनि, सो एपमार्फत सिधै सेवा लिन सकिन्छ ।साथी एप अहिले गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने आगामी दिनमा आईओएसमा पनि ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्