अन्तरिक्षको वाइन १० लाख डलरमा लिलाम हुने



लन्डन, (एजेन्सी)

लिलाम गृह क्रिस्टीले एक वर्षसम्म इन्टरनेसनल स्पेस स्टेसनमा राखिएको एक बोटल फ्रेन्च वाइन करिब १० लाख अमेरिकी डलरमा लिलाम गर्न लागेको बताइएको छ ।

सन् २०१९ मा अन्तरिक्षयानमा राखेर पृथ्वीको कक्षमा पठाइएका एक दर्जन पेट्रस २ हजार वाइन बोटलमध्ये यो एक भएको क्रिस्टीले जनाएको छ । पुनः पृथ्वीमा फर्काइनुअघि यो बोटल झन्डै ४ सय ४४ दिन अन्तरिक्षमा रहेको थियो । एक दर्जन वाइन पारखी र वैज्ञानिकहरूले पृथ्वीको तुलनामा अन्तरिक्षमा रहेको यस वाइनको वासना आउने दाबी गरेका छन् । क्रिस्टीले भनेको छ– ‘यो वाइन किन्ने व्यक्तिलाई लामो समयदेखि पृथ्वीमा रहेको यसै कम्पनीको अर्को एक वाइन बोटल पनि दिइने छ । जसले गर्दा खरिदकर्ताले दुई बोटलबीचको स्वाद र वासनाको फरक महशुस गर्न सकँन् । साथै, खरिदकर्तालाई उल्कापिण्डबाट बनाएका गिलासहरू, कोर्कस्क्रु एउटा बोटल पनि दिइनेछ ।’

त्यसैगरी, यस वाइन चाख्ने काममा सहभागी रहेका पत्रकार तथा वाइन अनुसन्धानकर्ता जेन एन्सनले पुरानो हुँदै गएपछि पेट्रस झन् बढी वासनादार र स्मोकी हुने बीबीसीलाई बताएकी छन् । क्रिस्टीले लिलामबाट संकलित रकम भावी अन्तरिक्ष परियोजना र वाइन अनुसन्धानमा लगानी गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्