पवनपुत्र हनुमान र उनका दश रहस्यहरु



प्रेममान डंगोल

(१) हिन्दूहरुको आराध्यदेव हनुमानको हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन जयन्ती मनाउने गरिन्छ । शास्त्रका अनुसार हनुमान यस धर्तीमा एक कल्पसम्म सशरीर रहने हुन्छ । श्रीराम जन्मिनुअघि नै हनुमानको जन्म भएको थियो । भगवान् श्रीरामको जन्म ५,११४ इसापूर्व अयोध्यामा भएको थियो । हनुमानको जन्म चैत्र शुक्ल पूर्णिमाका दिन भएको थियो ।

(२) कल्पको अन्त्यसम्म सशरीर रहने हनुमानले इन्द्रबाट इच्छा मरणको वरदान प्राप्त गरेका थिए । श्रीरामको वरदानअनुसार कल्पको अन्त्य भएपछि हनुमानले सायुज्य प्राप्त गर्नेछन् । सीता माताको वरदानअनुसार पनि हनुमान चिरञ्जीवी रहनेछन् । हनुमानले भीम र अर्जुनको परीक्षा लिएका थिए । कलियुगमा हनुमानले तुलसी दासलाई दर्शन दिएका थिए । हनुमानले लुलसी दासलाई यसो भनेका थिए, ‘चित्रकूट के घाट पर, भई संतन की भीर । तुलसी दास चंदन घिसै, तिलक करे रघुवीर ।’ श्रीमद्भागवतका अनुसार हनुमान कलिगुगमा गन्धमादन पर्वतमा निवास गर्छन् । तर पवनपुत्र हनुमान ब्रह्माण्डको चारैतिर हावाको रुपमा जताततै विचरण गरिरहेका हुन्छन् भनिन्छ ।

(३) हनुमानको जन्म कपि नामक वानर जातिमा भएको थियो । रामायणमा वाल्मीकिले हनुमानलाई विशिष्ट पण्डित, राजनीतिमा धुरन्धर वीर शिरोमणि भनी प्रशंसा गरेका छन् । तर उनलाई लोमश र पुच्छरधारी भनी ठाउँ–ठाउँमा वर्णन गरेका छन् । अतः सिद्ध हुन्छ कि हनुमान वानर जातिकै थिए । श्रीरामको जन्म भएपछि बालक रामको दर्शन गर्न महादेव मदारीको भेषधारण गरेर हनुमान बाँदरको नाच बालक रामलाई देखाउन दशरथ महाराजको दरबारमा गएका थिए । हनुमानले यसरी बाँदरको नाच देखाएर आफू बाँदर भएको प्रमाण दिएका छन् ।

(४) हनुमानको परिवारको विषयमा भन्नुपर्दा हनुमानकी आमा अञ्जनी पूर्वजन्ममा पुञ्जिकस्थला नामक अप्सरा थिइन् । हनुमानका पिताको नाम कपिराज केशरी थियो । ब्रह्माण्ड पुराणअनुसार हनुमान सबैभन्दा जेठा दाजु हुन् । उनका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक भाइहरु थिए । वर्षौंसम्म राजा केशरीबाट अञ्जनालाई पुत्र प्राप्ति भएन । पछि पवनदेवको आशिर्वादबाट उनलाई पुत्र प्राप्ति भएको थियो । यसैले हनुमानलाई पवनपुत्र पनि भनिएको हो । कुन्तीपुत्र भीम पनि पवनपुत्र थिए ।हनुमान रुद्रका अवतार हुन् । पराशर संहिताका अनुसार सूर्यसँग हनुमानले शिक्षा ग्रहण गर्ने क्रममा पूर्णरुपमा सम्पूर्ण ज्ञान प्राप्त गर्न विवाहित हुनुपर्ने भएकोले सूर्यले हनुमानलाई विवाह गर भन्दा कोही केटी नपाएकोले सूर्यले अन्त्यमा आफ्नै छोरी सुवर्चलाको विवाह हनुमानसँग गरिदिएर हनुमानलाई विवाहित बनाई सम्पूर्ण ज्ञान दिएका थिए । तर पनि हनुमान ब्रह्मचारी नै रहे । त्यसैले हनुमानलाई विवाहित ब्रह्मचारी पनि भन्ने गरियो ।

(५) हनुमानले आफ्ना भक्तहरुलाई विभिन्न बाधाहरुबाट रक्षा गर्छन् । रोग, शोक, भूतप्रेत, ग्रहबाधा, मुद्दामामिला, जेलनेल, मारण–सम्मोहन–उच्चाटन, घटना–दुर्घटना आदिबाट बचाउँछन् । त्यस्तै मंगलदोष, पितृदोष, ऋण, सन्ताप, बेरोजगारी, तनाव, शत्रुबाधा, मायावी जालझेल आदिबाट पनि हनुमानले आफ्ना भक्तहरुलाई रक्षा गर्छन् ।

(६) पराक्रमी हनुमान सर्वशक्तिमान्, सर्वज्ञ र सर्वत्र छन् । बचपनमा उनले सूर्यलाई रोटी सम्झेर निलेका थिए । एकै छलाङमा उनले समुद्रलाई नाघेका थिए । उनले समुद्रमा राक्षसी मायाको वध गरेका थिए । लंकामा पस्नेबित्तिकै उनले लंकिनी र अन्य राक्षसहरुको वध गरिदिएका थिए । अशोक बाटिकालाई उजाड पार्दै अक्षय कुमारको वध गरिदिएका थिए । जब उनको पुच्छरमा आगो लगाइदिए, तब उनले लंका जलाइदिए । उनले सीतालाई औंठी दिए, विभिषणलााई रामसँग भेट गराइदिए । हिमालबाट एउटा पहाड नै उठाएर ल्याए र सञ्जीवनी बुटीद्वारा मूच्र्छित लक्ष्मणको प्राण बचाइदिए । यसै बीचमा उनले कालनेमी नामक राक्षसको वध गरिदिए । पाताल लोकमा गएर राम र लक्ष्मणलाई छुटाई अहिरावणको वध गरिदिए । उनले सत्यभामा, गरुड, सुदर्शन, भीम र अर्जुनको घमण्ड चुरचुर हुने गरी तोडिदिए । हनुमानका यस्ता कैयौं पराक्रमहरु छन् ।

(७) हनुमानको विषयमा कैयौं ग्रन्थ लेखिएका छन् । उल्लेखनीय रुपमा तुलसी दासले हनुमान चालिसा, बजरंग वाण, हनुमान बाहक, हनुमान साठिका, संकटमोचन, हनुमानाष्टक आदि अनेकौं स्तोत्र लेखेका छन् । तुलसी दासले भन्दा पहिला पनि कैयौं सन्त र साधुहरुले हनुमानको श्रद्धामा कैयौं स्तुति लेखेका छन् । हनुमानको विषयमा विभिषणले पनि हनुमान बडवानल स्तोत्रको रचना गरेका थिए । समर्थ राम दासले मारुती स्तोत्र रचना गरेका थिए । आनन्द रामायणमा हनुमान स्तुति एवं उनका द्वादश नाम उल्लेख गरेको पाइन्छ । यसका अलावा कालान्तरमा हनुमानको विषयमा हजारौं वन्दना, प्रार्थना, स्तोत्र, स्तुति, मन्त्र, भजन लेखिएका छन् । गुरु गोरखनाथले हनुमानको विषयमा सावर मन्त्रहरुको रचना गरेका छन् ।

(८) रामभक्त हनुमान माता जगदम्बाका सेवक पनि हुन् । हनुमान माताको अघि–अघि हिँड्ने गर्छन् भने भैरव माताको पछि–पछि । माता जगदम्बाका जति पनि मन्दिर छन् त्यहाँ वरिपरि हनुमान र भैरवको मन्दिर हुन्छन् । कतिपय मानिसहरुले यस कुरालाई वैष्णोदेवीसँग जोडेर पनि हेर्ने गर्छन् ।

(९) सर्वशक्तिमान् हनुमानसँग कैयौं वरदानी शक्तिहरु छन् तर पनि विनावरदानी शक्तिबाट पनि स्वयम् हनुमान शक्तिशाली थिए । ब्रह्मदेवले हनुमानलाई तीनवटा वरदान दिएका थिए, जसमध्ये उनीमाथि ब्रह्मास्त्र बेअसर हुने पनि थियो, जुन वरदान उनलाई अशोक बाटिकामा काम आयो । सबै देवताहरुका साथमा आ–आफ्ना शक्तिहरु छन्– विष्णुसँग लक्ष्मी, महेशसँग पार्वती र ब्रह्मासँग सरस्वती । तर हनुमानसँग स्वयं आफ्नै शक्ति छ । यो ब्रह्माण्डमा ईश्वरपछि यदि कोही एक शक्तिशाली छ भने ती हुन् हनुमान । महावीर विक्रम बजरंगबलीको सामु कुनै पनि प्रकारको मायावी शक्ति टिक्न सक्दैन ।

(१०) कस–कसले देखेका छन् त हनुमानलाई भन्ने सन्दर्भमा १३ औं शताब्दीमा माध्वाचार्य, १६ औं शताब्दीमा तुलसी दास, १७ औं शताब्दीमा राम दास, राघवेन्द्र स्वामी र २० औं शताब्दीमा स्वामी राम दासले हनुमानलाई देखेको दाबी गर्छन् । हनुमानले त्रेता युगमा श्रीरामलाई, द्वापर युगमा श्रीकृष्ण र अर्जुनलाई सहायता गरेका थिए भने कलियुगमा रामभक्तहरुलाई सहायता गर्छन् ।

प्रतिक्रिया दिनुहोस्