वीरगन्ज महानगरपालिकाले संचालनमा ल्यायो २३० शैयाको कोभिड अस्थायी अस्पताल



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शैयाको अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टर संचालनमा ल्याएको छ ।

वीरगन्ज १० घडीअर्वा स्थित गोपाल मण्डली अतिथी सदनमा , महानगरपालिकाले शुक्रबार देखि २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सन्चालनमा ल्याएको हो । गोपालमण्डली अतिथी सदनमा एक कार्यक्रम गरेर महानगर प्रमुख विजय कुमार सरावगीले कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टरको औपचारिक रुपमा उद्घाटन गर्नु भएको छ । महानगरले सन्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालमा पहिलो बिरामी महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की भर्ना हुनु भएको छ ।

कार्कीलाई दुईदिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।पर्सा जिल्लामा संक्रमितको संख्या अप्रत्याशीत रुपमा बढ्दै गए पछि जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र डिसिसिएमसीको मङगलवार बसेको बैठकले वीरगन्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सन्चालनमा ल्याउने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार, वीरगन्ज महानगरपालिकाले भने २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आईशोलेसन सेन्टर स्थापना गरि संचालनमा ल्याएको हो ।

महानगरले सन्चालनमा ल्याएको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टरमा सामान्य लक्षण भएका र लक्षण नदेखिएका संक्रमितलाइ भर्ना गरि उपचार गरिने महानगर प्रमुख सरावगीले बताउनुभयो । सरावगीका अनुसार, कोभिड अस्थायी अस्पताल तथा आइशोलेसन सेन्टरमा डिएम १ जना, एमडी २ जना र मेडिकल अफिसर ८ जना गरि ११ जना चिकित्सक खटाइएको छ । यसका साथै प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र १० जना प्रशासनिक कर्मचारी पनि खटाइएको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । सरावगीका अनुसार, वीरगन्जमा कोभिड संक्रमितहरुको संख्या वढ्दो अवस्थामा रहेको र होम आइशोलेसनमा रहेका संक्रमितलाइ समेत अक्सिजन दिनुपर्ने अवस्था छ । तर अस्पतालमा उपचार गर्ने ठाउँको कमी भएकाले महानगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका लागि कोभिड अस्थायी अस्पताल तथा आइसोलेशन सेन्टर संचालनमा ल्याएको सरावगीले वताउनुभयो ।

वीरगन्जमा अहिले हजार भन्दा बढि संक्रमित अस्पतालमा बेड नपाएर, होम आइसोलेशनमा रहेको ती मध्ये केहि संक्रमितलाइ स्वास्थ्यकर्मीको निगरानीमा औषधी र अक्सिजन दिनुपर्ने अवस्था भएकाले त्यस्ता संक्रमितलाइ कोभिड अस्थायी अस्पतालमा भर्ना गरेर उपचार गरिने सरावगीले बताउनुभयो ।होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका संक्रमितहरुको अवस्था समेत जटिल वन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको उहाले बताउनुभयो ।

सरावगीका अनुसार, महानगरको कोभिड अस्थायी अस्पताल तथा आइशोलेसनमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधी र खाजा, खाना समेत महानगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउनेछ । कोभिड संक्रमणको पहिलो लहरका बेला पनि वीरगन्ज महानगरपालिकाले वीरगन्जको गण्डक स्थित गण्डक अस्पताललाइ भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेका थियो भने सिद्धार्थ माविमा आइशोलेसन सेन्टर स्थापना गरि सन्चालनमा ल्याएको थियो । त्यस बेला गण्डक कोभिड अस्पतालमा ४०४ जना र सिद्धार्थ माविको आइसोलेशन सेन्टरमा १२३ जना संक्रमितको उपचार गरिएको थियो ।

यसैबिच वीरगन्ज महानगरपालिकाले शुक्रबार देखि समुदायस्तरमा कोरोना परिक्षण कार्य पनि शुरु गरेको छ । संक्रमण दर बढ्दै गएपछि हिजो देखि महानगरपालिकाले महानगरका वडा वडामा पुगेर स्वाब संकलन अभियान शुरु गरेको हो । पहिलो दिन हिजो शुक्रबार वीरगन्ज १० आदर्शनगर स्थित नगरसभागृह छेउको बारुणयन्त्रको कार्यलय परिसरमा बिहान ७ बजे देखि बिहान १० बजे सम्म स्वाब संकलन गरिएको छ । उक्त स्थानबाट हिजो ४९ जनाको स्वाब संकलन गरिएको महानगरपालिकाका स्वाथ्यकर्मी जहिर आमलले जानकारी दिनुभयो । संकलन गरिएको स्वाबहरु परिक्षणका लागिा नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको पनि आलमले जानकारी दिनुभयो । शनिबार बाहेक अन्य दिन षे सेवा संचालन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्