कोरोनाबाट हेटौंडामा ६५ वर्षीय पुरुषको मृत्यु



न्युज अफ नेपाल, हेटौंडा ।

एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका थाहा नगरपालिका–५ का एक संक्रमितको शनिबार विहान मृत्यु भएको छ ।

मृतक ६५ वर्षीय पुरुष हुन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा बैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि होम आइसोलेसनमा थिए । उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शुक्रबार सैनिक अस्पताल छाउनी पुर्‍याइएकोमा शनिबार विहान करिब ३ बजे मृत्यु भएको आफन्तले बताएका छन् ।

मृतकको दीर्घरोग नभएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताउनुभयो । मृतकको पुनः स्वाब परीक्षण गरिएको अस्पताललाई उद्धृत गर्दै आफन्तले बताएका छन् । मृतक सेवानिवृत्त नेपाली सेना हुन् । गत वर्ष थाहा नगरमा कोरोना पोजेटिभ देखिएका सात जनाको मृत्यु भएको थियो ।

शुक्रबारसम्म थाहा नगरमा कोरोना संक्रमितको संख्या ९१ पुगेको थियो भने ३ जना निको भएका छन् । पाँच जनाको हेटौंडा र काठमाडौमा उपचार जारी छ । शनिबार पनि कोरोनाको लक्षण देखिएकाको स्वाब परीक्षण जारी छ ।

प्रतिक्रिया दिनुहोस्