अस्पतालको बेड खोज्दै तनहुँदेखि धुलिखेलसम्म



मोतीराम तिमल्सिना, काभ्रे ।

देशभर कोभिड १९ को संक्रमण बढिरहेका बेला गुणस्तरीय उपचार र अस्पतालको बेड खोज्दै तनहुँका युवा धुलिखेल अस्पतालमा आईपुग्नु भएको छ । धुलिखेल अस्पतालमा चिनजानका चिकित्सकसँग समन्वय गरी धुलिखेल अस्पताल आईपुगेको उहाँले बताउनु भयो । ‘विहान ८ बजे तनहुँमा रहेको अस्पतालबाट धुलिखेलका लागि एम्बुलेस रिजर्भ गरेर निस्किएका हौं’–संक्रमित विरामीले भने–‘धुलिखेलमा केहि शैया खाली रहेको र गुणस्तरीय उपचार सेवा पाउने विश्वास लागेकाले तनहुँ देखि धुलिखेल आईपुगेको हुँ ।’

धुलिखेल अस्पतालको इमरजेन्सी विभागमा केहि समय पर्खिए पछि अस्पतालमा रहेको कोभिड रेस्पोन्स टोलीले उहाँलाई केहि समय पछि मात्रै कोभिड वार्डको बेड उपलब्ध गराएको थियो । तनहुँ र आसपासका अस्पतालहरुमा सम्पर्क गरेर पनि बेड उपलब्ध हुन नसके पछि धुलिखेलमा सम्पर्क गरी चिनजानका आधारमा उपचारका लागि आएको उहाँले बताउनु भयो । धुलिखेल अस्पतालमा अहिले देशका विभिन्न स्थानबाट कोभिडको उपचारका लागि विरामीहरु आउने क्रम बढेको छ ।

अस्पतालमा शुक्रबार साँझबाट ७५ शैया कोभिडका लागि ब्यवस्थापन गरिएको प्रशासकिय प्रमुख रमेश माकजुले बताउनु भयो । संक्रमित विरामीहरुमा अक्सिजनको मात्रा घट्दै गए पछि आईसियु र भेन्टिलेटरको अभाव शुरु भएको छ । एचडियु सहितको सुविधा रहेका शैयाहरु पनि भरिन थालेका छन् । अस्पतालले इमरजेन्सी अस्पताल आएका विरामीहरुलाई शैया अभावका कारण विरामी कुरुवाका लागि राखिएको स्थानमा समेत विरामी भर्ना गरेर उपचार शुरु गरेका छन् । अस्पतालको प्राङ्गण देखि नै विरामीहरुको परिक्षण शुरु गरिएको छ।

‘अस्पतालको इमरजेन्सिमा दैनिक ४/५ जना संक्रमित विरामीहरु आउन थालेका छन्’–इमरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘उनिहरुका लागि समेत बेड मिलाउन सकिएको छैन ।’ एकै दिन पाँच जना संक्रमितहरुको निधन हुँदाका विदारक घटना सम्झँदै उपचारमा सक्रिय भए पनि पर्याप्त पूर्वाधार नभएकाले सम्भव नभएको उहाँको अनुभव छ । अस्पतालले कोभिडको शंका लागेर आएका विरामीहरुको हकमा समेत अलग्गै उपचारको ब्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्