चिनियाँसहित ९ ठेकेदार कम्पनी कालो सूचीमा



काठमाडौं (नेस) ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर काम नगर्ने ९ निर्माण कम्पनीमाथि कारवाही अगाडि बढाउँदै कालो सूचीमा राखेको छ ।लामो समयदेखि ठेक्का लिएर काम अगाडि नबढाएका कम्पनीमाथि कारवाही गर्ने उद्देश्यले बसेको कार्यालयको बैठकले सार्वजनिक खरिद ऐन २०६३को दफा ६३ को उप दफा (१)अनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको हो ।
कार्यालयको बुधबार बसेको बैठकले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालो सूचीमा पर्ने ठेकेदार कम्पनीहरूमा भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको सिफारिसमा शिवराम कन्स्ट्रक्सन दोलखालाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।त्यसैगरी पशुसेवा विभाग र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौंको सिफारिसमा कौशिकी इन्फोसिस इन्टरनेसनल काठमाडौंलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यता जलस्रोत तथा सिंचाइ विकास डिभिजन ललितपुरको सिफारिसमा श्यामबाबु-ओम मित्र जेभी ललितपुरलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । अर्जुनधारा नगरपालिका झापाको प्रस्तावमा कार्की सप्लार्यसलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पोखराको सिफारिसमा बराह गोबरग्याँस तथा नवीकरणीय ऊर्जा काठमाडौंलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा सिनोस्टिल इक्विपमेन्ट एन्ड इन्जिनियरिङ र सान्दोङ झावई स्टिल टावर कम्पनी चीनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । स्थानीय पूर्वाधार विकास विभाग र सस्पेन्सन ब्रिज डिभिजन ललितपुरको सिफारिसमा अधिकारी निर्माण सेवा गोरखालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्