अक्सिजनसहितको अस्पताल सञ्चालन गर्दै स्थानीय तह

जनशक्ति छैन, संक्रमित जान मान्दैनन्



दुर्गाप्रसाद शर्मा, पर्वत

कोरोनाको दोस्रो लहर गाउँ–गाउँमा समेत फैलिएपछि पर्वतका सातवटै स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न थालेका छन् । पर्वतका जलजला, मोदी, फलेबास, महाशिला, बिहादी र पैयुँ गाउँपालिकाले अस्थायी अस्पताल बनाएका छन् ।पर्वतका सबैजसो पालिकाले ५ बेडको अस्थायी अस्पताल सञ्चालन गरे पनि जनशक्तिको अभावमा संक्रमित भने उपचारका लागि जानुभन्दा होम आइसोलेसनमा बस्न थालेका छन् । महाशिलाले सञ्चालन गरेको अस्पतालमा बाहेक अन्य अस्पतालमा अहिले बिरामी उपचारका लागि भर्ना भएका छैनन् ।

महाशिला गाउँपालिकाले वडा नं. ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले १० वटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘हामीसँग अक्सिजन भएकाले तीन जना बिरामीलाई अक्सिजन दिएर यहीं उपचार गरिरहेका छौं, पहिले पोखरा पठाउने अवस्था थियो ।’ –उहाँले भन्नुभयो ।जलजला गाउँपालिकामा पनि ५ शै्ययाको अस्पताल सञ्चालनमा छ । पालिकामा धेरै वडाहरूमा संक्रमण बढेको छ । तर, पनि बिरामी अस्थायी अस्पतालमा आएका छैनन् । तीन दिनभित्र पालिकामा तीन जनाको नै कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । ‘संक्रमितहरू घरमै बसेका छन् तर अस्पताल तयारी हालतमा छ’, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भन्नुभयो– ‘आवश्यक परेका बेला उपचारका लागि तयारी गरेर बसेका छौं ।’

अस्पतालमा कार्यरत चिकित्सक बिदामा भएकाले पुनः काममा आउने कुराको भने अझै टुंगो छैन ।मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्य चौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा छ । ‘अहिलेको कोरोनाको लक्षण भनेकै अक्सिजनको कमी देखिएकाले हामीले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेका छौं ।’ –उहाँले भन्नुहुन्छ ।बिहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेसन बेडलाई अक्सिजनलगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताउन’ह’न्छ । कुस्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनाको प्रयोगले ठूलीपोखरी वा बजारक्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । ‘यसअघि सबै पालिकाले खर्च व्यहोर्ने भनेर अस्थायी अस्पताल बनायौं । खर्च व्यहोर्न आनाकानी गरेपछि त्यो सम्भव भएन । अहिले हामी आफैँले संरचना तयार गर्दै छौं ।’ –जोशीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्